punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका नौ विद्यालय समायोजन, तीन विद्यालय अटेर गर्दै

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले नौ वटा विद्यालयलाई समायोजन गरेको छ। शैक्षिक गुणस्तर सुधारका लागि कार्यपालिका र नगर सभाको निर्णय बमोजिम भौतिक पूर्वाधार र शिक्षक अभाव तथा न्यून विद्यार्थी भएका विद्यालयहरूलाई विद्यालय समायोजन तथा दरवन्दी मिलान नियमावली– २०८० बमोजिम समायोजन गर्ने काम भएको हो। उपमहानगरले यो वर्ष १४ विद्यालय समायोजन गर्ने निर्णय गरेकोमा बिहीवारसम्म ९ विद्यालय समायोजन भएका हुन्।

गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले समायोजन गर्ने निर्णय भएका मध्ये धनगढी–११ को जोकैया आधारभूत विद्यालय बेला आधारभूत विद्यालयमा समायोजन भएको छ।

धनगढी–१८ को नेपाल भूपू सैनिक आधारभूत विद्यालयको कक्षा २ र ३ खप्तडी आधारभूत विद्यालयमा समायोजन गरिएको छ। धनगढी–१७ को कालिका आधारभूत विद्यालयको कक्षा ४ र ५ वडा नम्बर १७ कै न्यू कालिका आधारभूत विद्यालयमा समायोजन भएको छ।

धनगढी–६ को भैरवबाबा आधारभूत विद्यालयको कक्षा ६–८ बासुदेवी माध्यमिक विद्यालयमा समायोजन गरिएकोछ। उपमहानगरको निर्णयअनुसार धनगढी–९ को सरस्वती आधारभूत विद्यालयको कक्षा ६–८ धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा समायोजन गरिएको हो।

यसैगरी धनगढी–१२ को नवदुर्गा आधारभूत विद्यालयको कक्षा ६–८ दुर्गा आधारभूत विद्यालयमा, वडा नम्बर १५ को जनजागृति आधारभूत विद्यालयको कक्षा ६–८ राष्ट्रिय माध्यमिक विद्यालयमा समायोजन गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ।

यस्तै,धनगढी–१३ को जनता राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ९–१० जनता राष्ट्रिय माध्यमिक विद्यालय कैलाली गाउँमा समायोजन गरिएको छ भने वडा नम्बर १७ को दिपेन्द्र चारपाते माध्यमिक विद्यालयको ९ र १० बेहडाबाबा माध्यमिक विद्यालयमा समायोजन गरिएको छ।

उपमहानगरले १४ विद्यालय समायोजन गर्ने निर्णय गरे पनि साउन मसान्तसम्म ९ विद्यालय मात्रै समायोजन भएका छन्। पाँच विद्यालय अझै समायोजन भएका छैनन्। धनगढी–२ को शैलेश्वरी आधारभूत विद्यालयको कक्षा १–५ शारदा माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय प्रथम त्रैमासिक परीक्षा लगत्तै हुने सहमति भएको छ भने त्रैमासिक परीक्षा लगत्तै धनगढी–७ को नवज्योति आधारभूत विद्यालयको कक्षा १–५ शिव माध्यमिक विद्यालयमा समायोजन हुने समहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

तीन विद्यालय समायोजन नहुने अड्डीमा
धनगढीका तीन विद्यालयले समायोजन गलत भएको भन्दै समायोजन प्रक्रिया स्थगन हुनुपर्ने माग गर्दै आएका छन्। धनगढी–५ तारानगरको राष्ट्रिय आधारभूत विद्यालय, धनगढी–१२ को बेहडाबाबा आधारभूत विद्यालय र धनगढी–१४ को सिद्धार्थ आधारभूत विद्यालयले समायोजनको निर्णय सच्याउन माग गर्दै आएका छन्।

तारानगरको राष्ट्रिय आधारभूत विद्यालयमाको आधारभूत तह पञ्चोदय माध्यमिक विद्यालयमा, बेहडाबाबा आधारभूत विद्यालयको कक्षा १–५ सिद्धनाथ माध्यमिक विद्यालयमा र वडा नम्वर १४ एचगाउँको सिद्धार्थ आधारभूत विद्यालयको कक्षा ६–८ लाई सर्वोदय माध्यमिक विद्यालयमा समायोजन गर्ने निर्णय भएको थियो।

समायोजनमा जान अटेर गरिरहेका विद्यालयका केही शिक्षक, विद्यालय व्यवस्थापन समिति र केही अभिभावकले समायोजन प्रक्रिया गलत भएको बताउँदै आएका हुन्।


३२ साउन २०८०, बिहीवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु