कञ्चनपुरमा विपत् पूर्वतयारी अभ्यास

कञ्चनपुरको दक्षिणी क्षेत्र चौधर नदीमा विपत् पूर्वतयारी अभ्यास गरिएको छ । बेलडाँडी गाउँपालिका– ५ झिलमिला चौधर नदीमा विपत् जोखिम पूर्वतयारी अभ्यास गरिएको हो।

चुरेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी– ५ ईमलिया, झिलमिला भएर महाकाली नदीमा मिसिने चौधर नदीको उच्च जोखिम क्षेत्रमा मंगलबार अभ्यास गरिएको हो। विपत् आएका बेला संकटमा परेका व्यक्तिको उद्दार गराउने उद्देश्यले गाउँपालिका र निड्स नेपालले संयुक्त रुपमा अभ्यास गरेका हुन्।

निड्स नेपालका परियोजना संयोजक ईश्वर उपाध्यायले विपत्का बेला मानिससहित अन्नपात र धन सम्पती जोगाउनका लागि समुदायलाई अग्रसर गराएर अभ्यास गरिएको बताए। ‘गाउँबस्तीमा विपत् जोखिम बढ्दा शुरुमा समुदायलाई नै जिम्मेबार बनाउनुपर्छ,’ उनले भने, ‘राज्यका निकाय जोखिम भएको स्थानमा पुग्दासम्म समय लाग्ने र उतिबेलासम्म समुदाय स्तरबाटै उद्दार कार्य गर्न–गराउन समुदायकै व्यक्ति सरिक हुनपर्ने हुन्छ।’

स्थानीयले समेत नमुना अभ्यासबाट विपत्का बेला जोखिममा परेका मानिसको खोज तथा उद्दार कार्य कसरी गर्ने भन्ने बारेमा सिकाई भएको बताए । बेलडाँडी गाउँपालिका– ५ का वडाध्यक्ष ईन्द्र खड्काले चौधर नदीले ईमलिया र झिलमिलामा सबैभन्दा बढि जोखिम बढाएको बताए।

बेलडाँडीमा चौधर, झर्नाखोला र निकुञ्जबाट आउने पानीका कारण डुवान, कटान हुँदै आएको छ। स्थानीयले चौधर नदी बिच जंगलबाटै डाइभर्ट गर्नुपर्ने र झर्ना खोलाको ‘हेड टु टेल’ तटबन्ध निर्माणको माग सार्दै आएका छन्।


३० जेठ २०८०, मंगलवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु