डडेल्धुरा अस्पतालमा राजनीतिक हस्तक्षेप : उपचार भन्दा बढि राजनैतिक गतिविधि
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको एक मात्र सुविधा सम्पन्न डडेलधुरा अस्पताल कांग्रेस र माओवादी नेता कार्यकर्ताका कारण अस्तव्यस्त भएको छ । संघीय सरकारको मातहतमा रहेको डडेलधुरा अस्पतालको व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भएपछि अस्पताल उपचार भन्दा पनि राजनीति गर्ने थलोमा परिणत भएको हो ।
संघीय सरकारले गत वैशाख १७ गते माओवादी नेता लक्ष्मणबहादुर सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो । सिंहले पदभार ग्रहण गरेकै दिन स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरी जेठ २ गते कांग्रेस कार्यकर्ता करुणाकर ओझालाई अध्यक्षमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको हो ।
ओझा एक वर्षअघि मात्र माओवादी त्यागी कांग्रेस प्रवेश गरेका हुन् । ओझालाई नियुक्त गरेको विरुद्ध सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले जेठ ९ गते स्वास्थ्यमन्त्रीको निर्णयमाथि स्टे अर्डर जारी गरेपछि पुनः उनले कार्यभार सम्हालेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रहेको अस्पतालमा माओवादी नेतालाई अध्यक्ष बनाइएपछि रुष्ट भएका नेता कार्यकर्ताको दबाबमा एक महिना नपुग्दै ओझालाई अध्यक्ष नियुक्त गरिएको थियो । ओझा यसअघि पनि अस्पताल विकास समितिका अध्यक्ष हुन् । प्रधानमन्त्री पुष्पकमल दहालको दबाबमा सिंहलाई अध्यक्ष र कांग्रेस सभापति देउवाको दबाबमा पुनः ओझालाई पनि अध्यक्षमै नियुक्त गरिएपछि अस्पतालको व्यवस्थापन लथालिंग अवस्थामा पुगेको हो ।
अदालतबाट स्टे अर्डर भएपछि पुनः कार्यभार सम्हालेका सिंहले आफूलाई काम गर्न नदिइएको भन्दै बिहीबार अध्यक्ष पदबाट राजिनामा दिने घोषणा गरेका छन् । उनले विवादका कारण अस्पतालको व्यवस्थापन लथालिंग अवस्थामा पुगेको र उपचार पाउनै कठिन हुने अवस्था देखिएकाले आफूले पदभन्दा पनि अस्पतालको बृहत्तर विकास चाहेको भन्दै राजिनामा दिएको जानकारी गराएका छन् ।
६ वर्षअघि सरकारले देशका ५ वटा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । जसमा सुदूरपश्चिममा डडेलधुरा अस्पताललाई ५ सय श्य्याको अस्पताल बनाउने घोषणासहित आफ्नो मातहतमा लिएको थियो । संघीय अस्पताल बनेपछि सरकारले लक्ष्मणबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरेको थियो । संघीय अस्पताल बनेपछि भौतिक पूर्वाधार निर्माण, वीर अस्पताल जस्तै अत्याधुनिक ल्याब, फार्मेसी, ब्लड बैंक जस्ता महत्त्वपूर्ण पूर्वाधारको विकास भएका थिए । गत निर्वाचनअघि सरकारले डडेलधुरा अस्पताललाई मेडिकल कलेजमा परिणत गर्ने घोषणा गरेको थियो । राजनीतिक विवादका कारण मेडिकल कलेज स्थापनाको प्रक्रिया पनि प्रभावित भएको छ ।
२६ जेठ २०८०, शुक्रवार १२:३९ बजे प्रकाशित













