मुन्द्रेको नियम कडा, भाइरललाई अब कलाकार नबनाउने

मुन्द्रेको कमेडी क्लब सिजन ३ को प्रशारण कान्तिपुर टिभीबाट प्रशारण हुन थालेको छ । कार्यक्रमका प्रस्तोता जितु नेपाल मुन्द्रेले अध्यक्ष प्रियंका कार्कीलाई स्वागत गर्दै भने, ‘कुर्सीको महत्त्व एकदम छ बचाउनुहोला ।’
मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाएपछि मुन्द्रेसँग न कार्यक्रम चार्म रह्यो न छक्कापन्जामा देखिए । उनले दीपाको ठाउँमा अध्यक्षको रूपमा करिश्मा मानन्धरलाई राखेर सिजन टू चलाए । जेनतेन चल्दै गरेको कार्यक्रम बनद भयो । दीपालाई अध्यक्ष राखेर नेपाल टेलिभिजनमा विशाल भण्डारीले कमेडी क्लब विथ च्याम्पियन चलाइरहेका छन् । भण्डारीले इमेज च्यानलमा कुरा नमिलेपछि जागिर छाडेका थिए । कमेडी क्याफे भनेर न्वारन गरे पनि पैसाको जोहो गर्न नसकेपछि कि एडभरटाइजिङसँग मिलेर कमेडी क्लब विथ च्याम्पियन चलाउन थाले ।
मुन्द्रेले नयाँ सिजनमा बडापत्र बनाएका रहेछन् । रोस्ट नगर्ने, धर्म संकटमा नपार्ने, नेता नचिनाउने, नेताको प्रेसर नबढाउने, लोकसेवा आयोग नभएको अञ्चल नभन्ने, आगो आगो नभन्ने, भाइरल नबनाउने भाइरललाई कलाकार बनाउने, पाहुनालाई बोल्न दिने, छाडा र अश्लील कुरा नगर्ने र अन्त्यमा कन्ट्रोभर्सीमा नभएर आज, भोलि र पर्सिमा विश्वास गर्नेलगायतका कुराहरू उनको बडापत्रमा छ ।
पञ्चलाइन आएपछि अचेल आगो आगो दीपाले कमेडी क्लब विथ च्याम्पियनमा भन्ने गर्छिन् । क्वीज र धर्म संकट भनेर प्रकाश सुवेदीले गेस्टलाई कन्ट्रोभर्सीमा पार्ने गर्छन् । गेस्टलाई बोल्न नदिने काम ऋषि धमलालो गर्छन् ।
बजारमा गिनेचुनेका कार्यक्रम भन्दा फरक गर्छु भनेका मुन्द्रेको नयाँ कार्यक्रम भने बिहीबार प्रशारण भएको पहिलो भाग फिक्का देखियो । कार्यक्रमभर उनको लाउड आवाजले दर्शकलाई दिक्क पार्छ ।
कार्यक्रम बन्द भएपछि धेरै टीकाटिप्पणी भए । भेटेर र फोनमार्फत मुन्द्रेको केमेडी क्लब फेरि सञ्चालनमा ल्याउन अनुरोध धेरै आएको उनले बताए । यो सिजन धेरै फरक हुने उनको दाबी छ । उनले कार्यक्रममा उापाध्यक्ष बनाएर दमन रुपाखेतीलाई क्यारेक्टर बनाए ।
पहिलो एपिसोडमा अतिथि थिए अभिनेता प्रदीप खड्का, अचेल उति कार्यक्रममा ननिस्किएका प्रदीप आएकोमा मुन्द्रे दङ्ग देखिन्थे ।
छक्का पञ्जाबाट निकालिएका मुन्द्रेले छक्कापञ्जाकै क्यारेक्टरमा प्रहशन गराए । आफू छक्का पञ्जा( ४ मा नअटाउनुको कारण दीपालाई शोबाट हटाउनु हो भन्ने सार्वजनिक गराएझैँ देखिएको थियो ।
‘त्यो दीपा नानीलाई हेर्नुस् त छक्कापञ्जा चलाउन भनेर बिहे नगरी नगरी बसेको छ’, माग्ने बुढा क्यारेक्टरबाट व्यङ्ग्य गरियो ।
यसो भनिरहँदा मुन्द्रै ‘लौ हेर’ भन्दै मज्जा लिइरहेका थिए । दमन र प्रियंका थपडी मारेर हासिरहेका थिए । छक्का पञ्जामा दीपकराज गिरीको राजा क्यारेक्टर प्रहशन गरियो । उपाध्यक्ष रुपाखेतीले ‘अध्यक्ष ज्यूको कारणले टिक्ने’ भन्दै व्यङ्ग्य गरे ।
४ चैत २०७९, शनिवार १३:३८ बजे प्रकाशित