राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता हुँदै
मुलुककोे सर्वोच्च पद राष्ट्रपतिको फागुन २५ गते हुने निर्वाचनका लागि आज शनिवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपति उम्मेदवार बन्न ५र५ जना प्रस्तावक र समर्थक हुनुपर्ने कानूनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२र६३ को आन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।
राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी कूल ८८२ कायम छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र २ पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
१३ फागुन २०७९, शनिवार ०७:४१ बजे प्रकाशित































