धनगढीको ६ लेन सडक झिलिमिली,भौतिकमन्त्रीले गरे उद्घाटन
धनगढी उपमहानगरपालिकाको मोहनापुल–अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ।
धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन्।
धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ मन्त्री देउवाले बत्तिको स्विच अन गरि उद्घाटन गरेका हुन्। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम सम्पन्न भएपछि उद्घाटन गरिएको हो।
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा स्थानिय तह संग साझेदारी गर्न तयार रहेको बताए।
धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो। धनगढी चौराहदेखि गेटा विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताए। ६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।
पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ।
धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको काम अन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ। भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ। यसैगरी, तेस्रो चरण अन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आह्वान भइसकेको धनगढी उप–महानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताएका छन्।
११ फागुन २०७९, बिहीवार ०६:४२ बजे प्रकाशित































