साढे तीन बजे सुदूरपश्चिमका मुख्यमन्त्रीले शपथ लिने, दुई मन्त्री पनि आजै नियुक्त गर्ने तयारी
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले साढे तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख कार्यालयका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको हो ।
आज मुख्यमन्त्री शाहले २ मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेसका तर्फबाट एक जना र नेकपा एकीकृत समाजवादीका तर्फबाट एक जना गरि दुई जनालाई अझै मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । मन्त्री बन्ने दुई जनाको नाम भने अझै पक्का भइसकेको छैन ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए । विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका हुन् ।
संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ ।
२७ माघ २०७९, शुक्रवार १३:०६ बजे प्रकाशित































