punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परिवारसँग समय बिताउँदै सन्दीप लामिछाने, मैदान फर्किन हतार नगर्ने

Chaupati
safha napa

पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने यतिबेला परिवारसँग समय व्यतित गरिरहेका छन् । हात्तीवनस्थित घरमा बुवाआमा र परिवारका सदस्यसँग बसिरहेका उनको मानसिक स्वास्थ्य सुधारोन्मुख छ ।

बलात्कार आरोपमा बन्दी जीवन बिताइरहँदा सन्दीपको मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । डिप्रेसनका लक्षणहरु देखिएपछि उनलाई जेलभित्रै काउन्सीलिङ समेत सुरु गरिएको थियो । जेलबाट बाहिर निस्किएपछि भने उनी धेरै हदसम्म आत्मविश्वासी देखिएका छन् ।

स्रोतले भन्यो, ‘उच्च अदालतको आदेशपछि उनको मनोविज्ञान फेरिएको छ । आफूले न्याय पाउनेमा उत्साही र आशावादी देखिएका छन् ।’
सन्दीप अहिले परिवारमा रहेका बालबच्चासँग बढी समय बिताइरहेका छन् । दाजूका छोराछोरी र अन्य आफन्तका बच्चाहरु अहिले उनको परिवारमा छन् । अहिले उनलाई काउन्सीलिङको आवश्यकता नदेखिएको स्रोतको भनाइ छ ।

सन्दीपलाई बाहिरी व्यक्तिहरुसँग भने भेट्न दिइएको छैन । भेट्न आउनेहरु पनि गेटबाटै फर्किने गरेका छन् ।‘मान्छेहरु आएर अनेकथोक सुनाउलान् र मानसिक असर पर्ला भनेर हामीले भेटघाट बन्द गरेका हौं,’ पारिवारिक स्रोतले भन्यो ।

राष्ट्रिय टिमका खेलाडी वा नेपाल क्रिकेट संघका पदाधिकारीहरु उनलाई भेट्न आएका छैनन् । फोनबाट भने कुराकानी भइरहेको छ । क्रिकेट संघका पदाधिकारीहरुले फोन गरेर उनको सञ्चोविसञ्चो सोधेका थिए ।

जेलबाट रिहा भएलगत्तै सन्दीपका कानून व्यवसायीले उनलाई फेरि क्रिकेट कप्तान बनाउन क्यानसँग माग गरेका थिए । क्यानले पनि सन्दीपलाई राष्ट्रिय टिममा फर्काउनेबारे सकारात्मक प्रतिक्रिया दिएको थियो । तर, तत्काल सन्दीप राष्ट्रिय टिममा फर्किने सम्भावना भने देखिएको छैन । अदालतले सन्दीपलाई मुद्दाको फैसला हुँदासम्म विदेश जान रोक लगाएको हुँदा राष्ट्रिय टिममा फर्काउन सम्भव नदेखिएको हो ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले सन्दीपलाई मैदानमा फर्काउनेबारे आफूहरु छलफलमै रहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले विभिन्न सरोकारवाला निकायहरुसँगको परामर्शपछि निर्णय लिइने उल्लेख गरे ।

‘अदालतले लगाएका बन्देजहरुलाई पनि हामीले हेर्नुपर्ने हुन्छ । टिममा फर्काउन मिल्नेरनमिल्ने विषयमा हामी खेलकुद परिषद लगायत राज्यका हरेक निकायहरुसँग छलफलमा छौं । मिल्ने अवस्था देखियो भने खेलाइन्छ, नत्र अहिले खेलाइन्न,’ उनले भने ।

मल्लले सन्दीपसँग आफूहरुको फोनमा कुरा भइरहेको बताए । केही दिन रेस्ट गरेपछि भेटघाट गर्ने सल्लाह भएको उनले जानकारी दिए । ‘क्रिकेट टिममा फर्किनेबारे सन्दीपले हामीसँग केही पनि भनेको छैन,’ उनले भने ।

जबरजस्ति करणीको आरोपमा पक्राउ परेका सन्दीपलाई गत साता पाटन उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । उनको मुद्दा भने विचाराधीन रहेको छ ।

 


४ माघ २०७९, बुधवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु