कैलालीमा अवैध क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै कानुन विपरीत दर्ता नभएका, नवीकरण नभएका र सञ्चालन अनुमति नलिएका क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।
केही क्रसर उद्योग विभिन्न आयोजना निर्माणका लागि राखिएका तर आयोजना सकिँदा पनि सञ्चालनमा रहेको हुँदा त्यस्ता उद्योग तत्काल बन्द गर्नुपर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन कार्य भइरहेको र अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग पनि बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ ।
सूचनामा कानुनी मान्यता प्राप्त उद्योगहरूले पनि सम्पूर्ण कागजात अनुगमका क्रममा पेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
कैलाली प्रजिअ थापाको नेतृत्वमा शनिबार जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन तथा निरीक्षण गरिएको थियो । क्रसर उद्योगले नवीकरणलगायत मापदण्ड पालना नगरिएको भेटिएको थियो । कैलाली सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबार तीन क्रसर, बालुवा उद्योगको अनुगमन गरिएको हो ।
२५ पुस २०७९, सोमवार ०७:०९ बजे प्रकाशित































