आमा भन्दा छोरी जेठी ! उमेर नपुगेको भन्दै आमाले वृद्ध भत्ता नपाउँदा छोरीले पाउँछिन्
कैलाली ।
‘आमा भन्दा छोरीको उमेर बढि’ यो कुरा सुन्दा सबैलाई अचम्म लाग्छ । अहिले कैलाली भजनी नगरपालिका बन गौवाकी जधिया डगौरा आफ्नी आमा भुधनी डगौरा भन्दा ९ वर्ष जेठी छन् ।
२०४१ चैत्र १० गते एकै दिन नागरिकता लिएका जधिया र भुधनी दुबै सहोदर आमा छोरी हुन् । तत्कालीन खैलाड ३ मा नरेन्द्र लाल श्रेष्ठको हस्ताक्षरमा उनीहरुले नागरिकता पाएका हुन् । उक्त नागरिकतामा छोरी जधिया डगौराको जन्म मिति २०१० र आमा भुधनी डगौराको जन्म मिति २०१९ उल्लेख गरिएको छ ।

यो नागरिकताको आधारमा आमाको भन्दा छोरीको ९ वर्ष उमेर बढि देखिन्छ । उनीहरुले ३८ बर्ष देखी आफ्नो नागरिकतामा भएको उमेरबारे केही जानकारी पाएनन् ।
नागरिकतामा आमा भन्दा आफू बढि उमेरको रहेको बारे उनी भन्छिन्, ‘अचम्म लाग्यो । हामीलाई यसमा के लेखेको छ भन्ने बारे थाहा भएन । कालो अक्षर भैँसी बराबर त हो’ उनले थपिन्, ‘फेरी नागरिकता पाएपछि खासै काम पनि भएन ।’
अहिले जधियाका नागरिकता अनुसार ६९ वर्ष पुगेको छ । उनले सामाजिक सुरक्षा भत्ता समेत पाउने गरेकी छन् । यता आमाको भने उमेर पुगेको छैन भन्दै भत्ता दिनबाट स्थानीय सरकार पन्छिरहेको छ ।

यहाँ यी दुई आमा छोरी बाहेक अन्यको नागरिकतामा पनि यस्ता गम्भीर त्रुटीहरु रहेको स्थानीय बताउँछन् । ‘नागरिकतामा कसरी आमाको भन्दा छोरीको उमेर बढि लेखिन्छ त ?’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी भन्छन् ‘यो मानवीय त्रुटि हो । ’
नागरिकतामा जन्म मिति लेख्दा फरक परेको हुन सक्ने उनी बताउँछन् । ‘यस्तो समस्या अहिले पनि कहिले काहीँ आउने गरेको’ उनी भन्छन्, ‘अहिले टाइप गर्दा मिस्टेक भएजस्तै पहिले लेख्दा गल्ती भएको हुन सक्छ ।’
सूचना अधिकारी जोशीले जधिया डगौरा र भुधनी डगौराका पुराना कागजपत्र हेरेर नागरिकता सच्चाउन सकिने बताए ।
९ पुस २०७९, शनिवार १३:०८ बजे प्रकाशित































