धनगढीका मतदाताको पीडा : उम्मेदवार पुरानै आश्वासन लिएर भोट माग्दै आउँछन्, फर्केर हेर्दैनन्

धनगढी उपमहानगरपालिका १ ओम शान्ति टोका ७० वर्षीय काले कोलीलाई अघिल्लो पटक निर्वाचनमा आउने अधिकांश उम्मेदवारले घर बनाइदिने आश्वासन दिएका थिए । चुनाव प्रचार प्रसार गर्दै त्यहाँ सम्म पुग्ने जो कोही उनको अवस्था देख्थे र सहानुभूति दिन्थे ।
सबै घरमै पुगेर सन्चो बिसन्चो सोध्ने, दुख सुखका कुरा गर्ने र समस्या समाधान गर्ने भन्दा उनी मक्ख हुन्थे । तर, ५ वर्ष सम्म पनि उनको समस्या हल भएन । अहिले फेरि यस्तै आश्वास दिँदै घर सम्म उम्मेदवारहरू आउने गरेको उनी बताउँछन् ।
No description available.
‘घर बनाइदिन्छु भन्थे, जग्गा पाउनु हुन्छ भन्थे । तर केही भएन’ उनले विगत सम्झँदै भने, ‘अहिले पनि यस्तै भन्दै आइरहेका छन् । केही होला जस्तो लाग्दैन ।’
घरमा उनी आफ्नी श्रीमतीसँग बस्छिन् । अघिल्लो पटक दुवै जनाले यस्तो आश्वासन सुनिरहेका थिए । ‘अहिले पनि पहिले जस्तै घर पाउनु हुन्छ । जग्गा पाउनु हुन्छ भन्दै आउँछन्’ डम्मरी कोलीले भनिन् ‘हामी त खै के कुरामा विश्वास गर्ने, केमा नगर्ने भन्नेमा छौँ ।’
No description available.
यहाँ उनीहरूको १० धुर जग्गा छ । त्यसैमा सानो घर छ। त्यही घर पनि सडक बिस्तारले जाने भए पनि उनीहरू थप चिन्तित छन् ।
उनीहरूको भन्दा ठुलो समस्या कला आउँजीको छ । ८० पुग्दै गरेकी आउजी निर्वाचनको प्रचार प्रसारमा आउनेहरूलाई आफ्नो दुख सुनाउँछिन् ।
‘मेरो सानो घर छ । त्यही पनि पानी चुहिन्छ’ उनी भन्छिन् ‘पहिला पनि तपाइलाई यस्तो समस्या हुँदैन भन्थे । अहिले सम्म त्यही समस्या छ । हामी गरिबलाई कोही हेर्दैनन् ।’
No description available.
आफ्ना श्रीमान् रोगी रहेको बताउने उनी आफूहरूको समस्या समाधान गर्नेलाई नै भोट दिने बताउँछिन् ।
कला आउँजीको घर नजिकै लाली आउँजीको घर छ । उनको पनि समस्या त्यस्तै छ । उनी सबै भन्दा ठुलो समस्या खानेपानीको भएको बताउँछिन् ।
No description available.
उनी भन्छिन्, ‘यहाँ सम्म पानी आएको छ । तर, हामीले पैसा नहुँदा घरमा पानी जोड्न पाएका छैनौ । पहिला पनि अब घरमै पानी पाउनु हुन्छ भनेका थिए । अहिले पनि त्यही भन्दै छन् । ’
स्थानीय टेक बहादुर रावत पनि अहिले उम्मेदवारका आश्वासन सुनेर हैरान भएका छन् । ओम शान्ति टोलमा पर्ने कैलाली खोलामा पुल नहुँदा यहाँका नागरिकलाई निकै समस्या छ । वर्षौे देखी पुल पाउने आशा गरेका यहाँका स्थानीय अहिले पनि निराश छन् ।
No description available.
‘हामीलाई पुल बन्छ भन्दै भोट माग्न आउँछन् । तर, खै पुल बनेको छैन’ स्थानीय रावतले भने, ‘बाटो बनाउँछु भन्छन् खै के विश्वास गर्नु र रु’
वर्षौ देखी स्थानीयलाई उम्मेदवारले विभिन्न प्रलोभन देखाउने तर समस्या समाधान नगर्ने गरेको उनको गुनासो छ ।
स्थानीय लक्ष्मीराज जोशी पनि उम्मेदवारहरूले अहिले पनि विभिन्न आश्वासन बढ्दै हिँडेको बताउँछन् । ‘अहिले विकास गर्छु भन्दै हिँड्छन् जितेपछि फर्केर आउँदैनन्’ उनले भने ‘हामीले यसरी धेरै पटक धोका खाइसकेका छौँ ।’
No description available.
स्थानीय प्रकाश राना पुल बनाउने भन्दै भोट माग्न आउनेहरू अहिले पनि त्यही समस्या हल गर्ने भन्दै गाउँमा हिँडिरहेको बताउँछन् ।
No description available.

२९ कात्तिक २०७९, मंगलवार १४:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु