डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं लैजाने तयारी
धनगढीमा ९ दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको छ ।
२०औं पटक अनसनअन्तर्गत केसी गत सोमबारदेखि धनगढीमा अनसन बसिरहेका छन् । कडा खालको अल्सरको लक्षण देखिएपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको हो ।
उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो ।
नेपाली सेनाको स्काइ ट्रक धनगढी आउने र टिचिङमा लैजाने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।
४ असोज २०७९, मंगलवार १४:२७ बजे प्रकाशित












