धनगढीबाट आरजु ‘ब्याक’, कांग्रेसले अब कसलाई दिन्छ टिकट ?
प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाको नाम पाँच जिल्लाबाट सिफारिसबाट सिफारिस भएको छ । डडेल्धुराबाट समानुपातिक सिफारिसमा परेकी आरजु कैलाली ५, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी हुन् ।
तीन प्रदेशका पाँच जिल्लाबाट सिफारिस भए पनि धेरैले आरजुको रोजाइमा यसपटक पनि कैलाली–५ नै पर्ने अनुमान गरेका थिए । तर, उनी यसपटक डडेल्धुराबाट समानुपातिकमा बस्न राजी भएको विषय बाहिर आएको छ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ साल यताका सबै निर्वाचनमा प्रत्यक्ष जित निकालेको क्षेत्र हो ।
कांग्रेसको बलियो प्रभाव रहेको डडेल्धुराबाट आरजु समानुपातिक उम्मेदवार रहने भएपछि उनी अघिल्लोपटक निर्वाचन लडेको कैलाली–५मा कांग्रेसबाट अब को उम्मेदवार होलान् भन्नेमा चासो बढेको छ ।
२०७४ मा भएको निर्वाचनमा कैलाली–५ बाट लडेकी आरजुलाई एमालेका नारदमुनी रानाले हराएका थिए । रानाले २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।
यसपटक कैलाली–५ बाट आरजु ब्याक भएको विषय आधिकारिक रूपमा जानकारीमा नआएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । त्यसैले अहिले नै नयाँ उम्मेदवार खोज्न हतार गरिहाल्नुपर्ने स्थिति नरहेको उनको भनाइ छ ।
‘म काठमाडौंमै छु । अहिलेसम्म उहाँसँग मेरो भेट भएको छैन । तर, समानुपातिकमा जानुभयो भन्ने कुरा आइरहेको छ, मैले पनि मिडियाबाटै थाहा पाएको हुँ,’ भट्टले भने, ‘आधिकारिक जानकारी आएपछि नयाँ उम्मेदवार को हुने भन्ने छलफल हुन्छ ।’
कैलाली–५ बाट प्रतिनिधिसभामा आरजुको मात्रै नाम सिफारिस भएको हुँदा उनको विकल्पमा अब सिफारिस नभएका व्यक्तिले टिकट पाउनेछन् । यस्तो अवस्थामा धेरैले कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझाले टिकट पाउन सक्ने आकलन पनि गरेका छन् । सामाजिक सञ्जालमा पनि यो बहस चलिरहेको छ ।
ओझानिकट रहेका कांग्रेस कैलालीका पूर्वसचिव पूर्ण कुँवर अब ओझाले नै टिकट पाउने दाबी गर्छन् । ‘आरजु भाउजूले चुनाव लड्न खोज्नुभएको भए उहाँले टिकट पाउनुहुन्थ्यो । तर, उहाँ पछि हटेपछि निर्विकल्प उम्मेदवार भनेको पुष्करनाथ ओझा हो, कुँवरले भने ।
कांग्रेसबाट अघिल्लोपटक ओझाले टिकट नपाएपछि उनी रुष्ट बनेका थिए । उनलाई आरजु हराउन भूमिका खेलेको भन्दै साधारण सदस्यसमेत नरहने गरी गरिएको कारबाही अहिलेसम्म पनि फुकुवा भएको छैन । त्यसैले साधारण सदस्यसमेत नरहेका नेताले टिकट पाउने दाबी नै हास्यास्पद रहेको कांग्रेस कैलालीका अर्का एक नेता बताउँछन् ।
आरजु ब्याक हुँदा कांग्रेसबाट सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनु र सुनिल भण्डारीमध्ये एक नेताले टिकट पाउने सम्भावना बलियो रहेको कतिपयको बुझाइ छ । प्रदेश महामन्त्री शाह कैलालीमा दुईपटक जिल्ला सभापति रहिसकेका नेता हुन् । यसपटक प्रदेशसभातर्फ प्रत्यक्ष र प्रतिनिधिसभातर्फ समानुपातिकमा उनको नाम सिफारिस भएको छ ।
कांग्रेस सभापति देउवाका पुराना सहयात्री भण्डारीको नाम भने कैलाली–४ को प्रत्यक्षका लागि सिफारिस भएको छ । उनी यस क्षेत्रबाट अघिल्लोपटक वाम गठबन्धनका उम्मेदवार लेखराज भट्टसँग हारेका थिए । उनलाई कैलाली–५मा ल्याउन सकिने चर्चा पनि व्यापकै छ ।
यस्तै, अघिल्लोपटक प्रदेशसभा सदस्य रहेका डिल्लीराज पन्त पनि कैलाली– ५ मा अब प्रतिनिधिसभाको उम्मेदवार बन्न सक्ने बताइएको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्र भने आरजु राणा समानुपातिकमा रहेको कुरा आधिकारिक जानकारी नआएकाले अहिले नै त्यसबारे छलफल नहुने बताउँछन् ।
आरजु पछि हटेका खण्डमा भने प्रतिनिधिसभाका लागि आकांक्षीहरू धेरै रहेको उनले बताए । ‘हामीले उहाँलाई भावी प्रधानमन्त्रीको रूपमा हेरेर एकल नाम सिफारिस गरेका हौँ । उहाँ समानुपातिक बस्ने भएपछि यहाँ धेरै आकांक्षी हुन सक्छन्,’ उनले भने’, हामी पनि तयार छौँ ।’
कतिपयले भने आरजुको नाम अहिले समानुपातिक सूचीमा रहे पनि अन्तिममा उनी प्रत्यक्ष चुनाव नै लड्ने दाबी गरिरहेका छन् । ‘यो अहिलेको हल्ला हो । कैलाली–५ मा उहाँले धेरै लगानी गर्नुभएको छ । उहाँ यहाँबाट नै प्रत्यक्ष चुनाव लड्नुहुन्छ र जित्नुहुन्छ । समानुपातिकको कुरा हल्ला हो’ उनीनिकट एक नेताले भने ।
आरजु नहुँदा कैलाली–५ मा युवानेता नैनसिंह महरले टिकट पाउने सम्भावना बढेको भनेर पनि प्रचार भइरहेको छ । तर, आयातित नेतालाई धनगढी नस्वीकार्ने कांग्रेसकै नेताहरू बताउँछन् । कांग्रेस कैलालीका उपसभापति भीम बडुवालले बाहिरियाहरूले आँखा गाडे पनि स्वीकार्न नहुने बताएका छन् ।
४ असोज २०७९, मंगलवार १३:३३ बजे प्रकाशित












