बैतडीको दुर्गम गाउँका विद्यालय प्रविधिमैत्री बन्दै
बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्न थालेका छन्। गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको हो।
कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। ‘विद्यालयमा इन्टरनेट जडान भएपछि अब कम्प्युटर जस्ता प्राविधिक विषयको पठनपाठनमा समेत सहजता आउने विश्वास छ, उनले भने।
ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा पालिकामा रहेका २७ विद्यालयलाई उपकरण हस्तान्तरण गरिएको हो। इन्टरनेट जडान गर्ने उपकरण प्राधिकरणले उपलब्ध गराएको र ती उपकरण विद्यालयलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ।
दुर्गम क्षेत्रका विद्यार्थीहको इन्टरनेटमा पहुँच पुर्याउन ग्रामीण दूरसञ्चार प्राधिकरणको सहयोगमा उपकरण वितरण गरिएको हो।
२२ असार २०७९, बुधवार ०८:३९ बजे प्रकाशित












