खुटिया नदीको कटानले जोखिममा सुकुम्बासी बस्ती
कैलालीमाको गोदावरी नगरपालिका वडा नम्बर ८ खुटिया नदीकिनारमा रहेको सुकुम्बासी बस्ती उच्च जोखीममा परेको छ । बर्खायाम सुरु भएसँगै अन्य वर्ष जस्तै बाढीले बस्ती बगाउँछ कि भन्ने पिर उनीहरूलाई छ । खुटिया नदीकिनारमा गिटी कुटेर जीवन निर्वाह गरिरहेका नागरिकको बर्खा सुरु भएसँगै त्रासका दिनहरू सुरु भएका छन् ।
नदीकिनारमा घर बनाएर बस्दै आएका यादवबहादुर मगरले आफ्नो कच्ची घर बाढी आएपछि बगाउँछ कि भन्ने पिरले सताएको बताए । ‘पानी परेको बेला खुटिया नदीले कुनबेला बगाउँछ भन्ने पिर छ,’ उनले भने, ‘डरैडरमा राति सुत्छौँ । कतिबेला सडकमा बास हुन्छ थाहा नै हुँदैन ।’
२२ वर्षदेखि त्यहीँ बस्दै आएका मगरलाई हरेक वर्षको बाढीले सताउने गरेको छ । पक्की घर नभएपछि वर्षाको बेला चुहिने छानोमुनि रात काट्नुपर्ने बाध्याता रहेको उनको दुखेसो छ । खुटिया नदीकिनारमा सम्बन्धित निकायले तटबन्धन तथा उचित जालीको व्यवस्था गर्नुपर्ने उनले बताए ।
बर्खाको बेला आफूहरूलाई गाँस, बासकै धेरै समस्या हुने सोही ठाउँकी चंन्द्रकला चुनारा बताउँछिन् । हिउँदमा खुटिया नदीकिनारमा गिटी कुटेर जीवन निर्वाह गर्न सजिलो भए पनि बर्खाको समयमा भने निकै समस्या झेल्नु पर्ने उनले बताइन् । आफूले कुटेको गिटी बिक्री नहुँदा झनै समस्या भएको उनको भनाइ छ । आफूसँग जग्गा जमिन पनि केही नभएको उनी बताउँछिन् । अन्त काम नपाउने गरेको उनको भनाइ छ । नदीकिनारमा बस्ने अधिकांशले गिटी कुटेरै जीवन चलाउँदै आएका छन् ।

खुटिया नदीकिनारमा बस्दै आएका सुकुम्बासीहरूको व्यवस्थापनको लागि वडा र नगरपालिकाबाट गर्न सकिने आवश्यक सहयोगको लागि पहल गरिरहेको नगरपालिकाले जानकारी दिएको छ । नदीछेउछाउमा रहेको बस्तीलाई व्यवस्थापन गर्न नगरपालिका लागिपरेको गोदावरी नगरपालिका- ८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए । ‘मानवीय क्षति हुन नदिन चाँडै तारजालीको व्यवस्था गर्ने योजना छ,’ चौधरीले भने, ‘विपद् व्यवस्थापन संस्थाले पनि सहयोग गरिरहेको छ ।’
वडामा पर्याप्त बजेट नहुँदा समस्या भएको चौधरीले बताए । नदी कटानले हरेक वर्ष क्षति हुँदै आएकोले यसका लागि प्रदेश सरकार र संघीय सरकारले ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ ।
खुटिया नदीकिनारका सुकुम्बासीहरूको व्यवस्थापनको लागि शहरी विकास मन्त्रालयले गत वर्ष घर बनाइदिने भनेको थियो । तर, त्यसका लागि अहिलेसम्म कुनै पहल भएको छैन । खुटिया नदीमा जथाभावी नदीजन्य पर्दाथ उत्खनन् गर्दा नदी कटान आसपासका बस्तीमा पुगेको छ ।
२१ असार २०७९, मंगलवार २१:३९ बजे प्रकाशित












