ताप्लेजुङमा पहिरोमा परेर सासु–बुहारीको ज्यान गयो
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा परेर सासु बुहारीको ज्यान गएको छ ।
गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले जानकारी दिए ।
उनका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो ।
यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।
सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताए । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका उहाँले जानकारी दिए ।
३ असार २०७९, शुक्रवार ०८:३६ बजे प्रकाशित












