बैतडीको डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण
बैतडीको डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ। पालिकाभरि रहेका मतदाता संख्या बराबर वृक्षारोपण गरिने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।
डिलाशैनी गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही संख्यामा वृक्षारोपण गर्ने योजना रहेको छ। उनले भने, ‘मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभरी वृक्षारोपण अभियान सञ्चालन गर्छौँ। वृक्षारोपणमा फलफूलका बिरुवा रोप्छौँ। यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोर्याउन सहयोग पुग्छ।’
कार्यक्रमका लागि गाउँपालिकाले सूचना प्रकाशित गर्दै मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रह समेत गरेको छ। फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको हो।
अहिलेका लागि बर्खे फलफूलअन्तर्गत कागतीका विरुवा वितरण गर्ने योजना रहेको जनाएको छ। कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीहरूलाई आग्रह गरिएको छ।
मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रममा सहभागी हुनेले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख गरिएको छ। यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख गरेको छ।
कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए। वातावरण संरक्षण गर्न सके मात्रै मानव जातिलाई सहज हुने भएकाले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ छ।यसअघि विश्व वातावरण दिवसमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता संख्या बराबर वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए।
२८ जेठ २०७९, शनिवार १७:०१ बजे प्रकाशित













