विनायक घटना : नगर प्रमुखसहित १३ जनाविरुद्द किटानी जाहेरी
अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ मा मृत भेटिएका किशोर विनोद शाहीको शवको पोस्टमार्टमपछि दाहसंस्कार गरिएको छ ।
शाहीको बिहीबार पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ कालिकास्थान बेलेखतको कर्णाली नदीमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
शव भेटिएको ६ दिनपछि बिहीबार शवको पोस्टमार्टम गरिएको थियो । जिल्ला अस्पताल अछाममा पोस्टमार्टमपछि आफन्तले उनको शव बुझेका थिए ।
मृत भेटिएका किशोर विनोदको हत्या भएको भन्दै १३ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ । किशोरका आफन्तले उनको हत्यामा संलग्न भएको भन्दै १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।
नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको बताइएको छ । स्रोतका अनुसार पञ्चदेवल नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेलगायतका १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमै खटिएको छ । घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशस्थित सङ्घीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ ।
नेकपा एमालेले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै आएको छ ।
२६ जेठ २०७९, बिहीवार १९:५८ बजे प्रकाशित













