अछामका किशाेर मृत्यु घटनामा दोषीमाथि कारबाही अघि बढाउन सभामुखको निर्देशन
अछामका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले सरकारलाई निर्देशन दिएका हुन् ।
‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुखले भने ।
२५ जेठ २०७९, बुधवार १३:१० बजे प्रकाशित












