कैलाली प्रहरीको थुनामा रहेका अभियुक्त हतकडीसहित फरार
कैलालीको सुखड इलाका प्रहरी कार्यालयबाट एक जना थुनुवा हतकडीसहित फरार भएका छन् । स्थानीय मेडिकलमा स्वास्थ्य जाँचका लागि लगेका बेला उनी हतकडीसहित फरार भएका हुन् । सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ बर्षिय कृष्ण पाण्डेय हतकडी सहित फरार भएको प्रहरीले जनाएको छ ।
उनी जेठ १४ गते लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनीसँगै घोडाघोडी २ साडेपानीका प्रकाश शाह पनि समातिएका थिए । दुबैजनालाई मेडिकल जाँचका लागि लगेको र फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
जेठ १८ गते पेट दुखेको गुनासो गरेपछि उनीहरुलाई हतकडी लगाएर उपचारका लागि अस्पताल लगिएको थियो । प्रहरी नायव उपरिक्षक जोशीले प्रहरीको हातबाट हतकडी फुत्काएरउनी फरार भएको बताए । दुवै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो । फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला र इलाका प्रहरी कार्यालयबाट टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
१९ जेठ २०७९, बिहीवार ११:१७ बजे प्रकाशित












