नीति तथा कार्यक्रममा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै एमाले कैलालीको विरोध
नेकपा (एमाले) जिल्ला कमिटी कैलालीले सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै विरोध जनाएको छ ।
सो पार्टीका सचिव डेजी पाण्डेले शनिबार जारी गरेर विज्ञप्तीमा गेटा मेडिकलको विषयलाई गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विशेष गरेर यो सरकारले पेश गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजप्रतिको गिद्धेदृष्टीकोणले स्तव्ध तुल्याएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनले त्यस्ता जनता विरोधी गतिबिधी तत्काल सच्याउन सरोकारवाला सबैलाई सचेत गराउन चाहन्छौ भनेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित गेटा मेडिकल कलेजको भौतिक कार्य लगभग पूरा भई सकेको अवस्थामा यसलाई अलपत्र पार्ने कामले सिङ्गो कैलाली र सुदूरपश्चिमेली जनतामाथिको यो सरकारको सबैभन्दा ठूलो धोका हो एमाले सचिव पाण्डेद्धारा विज्ञप्तीमा भनिएको छ ।
उनले यस्ता गलत सरकारी हर्कतलाई नेकपा (एमाले) टुलुटुलु हेरेर बसी रहन नसक्ने बताउदै जनताको मुद्धालाई लापर्वाही वा आलटाल गरे कडा आन्दोलन गर्न हाम्रो पार्टी वाध्य हुने बताएका छन् ।
उनले २०७४ सालमा नेकपा (एमाले) को नेतृत्वको सरकारले सो कलेज सञ्चालनका लागि विषेश प्राथमिकता दिएको संकेत पनि गरेका छन् ।

१४ जेठ २०७९, शनिवार २१:४२ बजे प्रकाशित











