बझाङको साइपालमा अध्यक्ष/उपाध्यक्षसहित तीन वडामा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ एमालेका उम्मेदवार मानबहादुर बोहरा विजयी भएका हुन् । उनी ६ सय ७५ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

बोहराका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उज्जवल बोहराले ६ सय १३ प्राप्त गरे । गाउँपालिका उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यसपालि उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६ सय ७५ मत ल्याएर विजयी भइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी बाटु बोहराले ६ सय १९ मत ल्याइन् । त्यस्तै, साइपाल गाउँपालिका–१ मा एमालेका नरेन्द्र धामी विजयी भएका छन् ।

उनी १ सय ५५ मत प्राप्त गर्दै विजयी भएका हुन् । धामीका निकटतम् प्रतिस्पर्धी कांग्रेसका साउने धामीले १ सय ३० मत पाए । वडा नं. १ मा एमालेको पूरै प्यानल नै विजयी भएको हो ।

वडा नं.३ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । यो वडामा एमालेका गोरख बोहराले १ सय ९१ ल्याएर विजयी भएका हुन् । वडा नं. ३ मा कांग्रेसबाट उम्मेदवार बनेका जंगवीर बोहराले १ सय ७६ मत पाए । त्यसैगरी वडा नं. ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ ।

एमालेका जयपाल बोहराले ८५ मत ल्याएर कांग्रेसका वीरबहादुर बोहरालाई पराजित गरे । वीरबहादुरले ४५ मत पाए । यता वडा नम्बर ४ मा भने कांग्रेसको प्यानल नै विजयी भएको छ ।यो वडामा कांग्रेसका जयसिंह रोकाया २ सय १९ मत ल्याउँदै विजयी भएका हुन् ।

एमालेका जोगी बोहराले १ सय ३१ मत पाए । त्यस्तै, वडा नं. २ मा पनि कांग्रेसका हरिलाल बोहरा ८७ ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमाले जयबहादुर बोहराले ८२ मत पाए ।


१ जेठ २०७९, आइतवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु