‘विप्लव’ नेतृत्वको पार्टी औपचारिकरुपमा फुट्यो
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिकरुपमा फुटेको छ । विप्लवले पार्टीबाट कारबाही गरेका नेताहरू धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीको समूहले चितवनमा गरेको तीन दिने राष्ट्रिय भेलाले नयाँ पार्टी बनाएसँगै नेकपा विभाजन भएको हो ।
सो भेलाले बाँस्तोलको संयोजकत्वमा नेकपा (बहुमत) गठन गरेको छ । भेलाले आगामी फागुनमा महाधिवेशन गर्नेगरी बाँस्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) पार्टीको गठन गरेको छ । ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको एक नेताले जानकारी दिए ।
भेलाले विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णय गर्दै कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ को कार्यदिशा तय गरेको छ । केही वर्ष भूमिगत राजनीति गरेको नेकपा सरकारसँग तीन बुँदे सहमति गरेपछि सार्वजनिक राजनीतिक गतिविधि गर्दै आएको थियो ।
२४ वैशाख २०७९, शनिवार ०६:५० बजे प्रकाशित













