न्युयोर्कको ब्रुकलिनमा रेलभित्र गोली चल्दा १० जना घाइते
न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए ।
‘बन्दुकधारीहरूले दुईवटा क्यानिस्टर खोलेपछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६औँ स्ट्रीट स्टेशनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भनेका छन् ।
नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमण लगत्तै उनी फरार छन् । संदिग्ध ६२ वर्षीय पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
३० चैत २०७८, बुधवार ०८:२० बजे प्रकाशित












