गडसेरा चौकीमा छात्रावास भवन र स्वास्थ्य इकाई सञ्चालनमा
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरा चौकीमा रहेको जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित छात्रावास भवन र चौकी सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गदै सो छात्रावास भवन र स्वास्थ्य इकाईको उद्घाटन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र विशिष्ट अतिथि जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहरा रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष ओझाले कोरोना भाइरसबाट जोरायल गाउँपालिकामा मानवीय क्षेती भने नभएको बताए । यस विद्यालय र स्वास्थ्य इकाईमा आफ्नो पूर्ण रूपमा साथ सहयोग रहेको उनले बताए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले आफूहरू निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामहरू धेरै भएको बताइन् । यस क्षेत्रको विकासका लागि गाउँपालिका यहाँहरूको साथ रहेको उनले बताइन् ।
उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख तेजबहादुर खत्री र स्वास्थ्य इकाई प्रमुख गोविन्द विष्ट लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।

२९ फागुन २०७८, आइतवार १९:२५ बजे प्रकाशित












