बैतडीमा बजार अनुगमन, २४ व्यापारी परे कारबाहीमा
संयुक्त अनुगमन टोलीले बैतडीमा बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गत हप्तादेखि शुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।
जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजार अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरि २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरूबाट ९० हजार रूपैयाँ जरिवाना असुल र ४५ हजार रूपैयाँ मूल्य बराबरका म्याद नाघेको सामग्री नष्ट गरिएको सूचना अधिकारी भारतीले बताए।
उनले भने, ‘पहिलोपटक अन्गमन गर्दा सचेत गराउछौं। दोस्रोपटक पनि उपभोक्ता हितविपरीत सामग्री बिक्री वितरण गरिएको पाइएपछि जरिवाना गर्ने गरेका छौं।’संयुक्त बजार अनुगमन टोलीले ७ वटा पसलबाट खाद्य वस्तुको नमूनासमेत लिइएको छ।
अनुगमनका क्रममा म्याद नाघेको हो कि होइन भनेर थाहा हुन नसकेको चामल, दालको नमूना संकलन गरिएको हो। संकलित नमूना परीक्षणका लागि खाद्य प्रविधि प्रयोगशाला पठाउने र अखाद्य निस्कए जरिवाना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सूचना अधिकारी भारतीका अनुसार कालोबजारी, म्याद नाघेका सामग्री बढी बिक्रीवितरण भएको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको हो। उनले भने, ‘हामीले नियमित रुपमा बजार अनुगमन गर्ने गरेका छौं, स्थानीय तहहरूको समन्वयमा हामी नियमित रुपमा यो कार्य अगाडि बढाउछौं।’
टोलीले व्यापारीहरूलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरीद गर्न उपभोक्तासँग आग्रह गरेको छ।
उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गरिने र अनुगमनले व्यापारी र उपभोक्ता दुवैलाई सचेत गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
यसअघि गौरा र दशैंतिहार लक्षित गरिएको बजार अनुगमनका क्रममा २ लाख ५० हजार मूल्य बराबरका अखाद्य तथा म्याद गुज्रेका सामान बरामद गरिएको थियो।
२२ फागुन २०७८, आइतवार ०८:०६ बजे प्रकाशित































