नेपाल ल्याइयो अमेरिकाबाट सात वटा साँढे
व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।
नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेन्टाइनमा राखिएको छ ।
चार÷पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन् केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा। केशव भट्टले जानकारी दिए । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा। भट्टले जानकारी दिए । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ ।
विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झण्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए ।
सुरुमा रु एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर रु दुई करोड पुगेको उनको भनाइ छ । प्रति साँढे रु १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झण्डै रु २६ लाख पर्न गएको छ ।
साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलोपटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।
१५ फागुन २०७८, आइतवार २०:४२ बजे प्रकाशित













