किन स्थगित भयो पाँच दलीय समन्वय समितिको बैठक ?
सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले जानकारी दियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् ।
मंगलबारको समन्वय समिति बैठकले यस विषयमा एक मत निर्माण गर्न बुधबार शीर्ष नेताहरुलाई छलफल गर्ने भनेको थियो । तर यो बीचमा शीर्ष पाँच नेताबीच छलफल समेत हुन सकेन । तर आज प्रधानमन्त्रीको व्यस्तता देखाएर बालुवाटारले बैठक स्थगित गरेको छ ।
समिति संयोजक रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जवी अधिकारीले प्रधानमन्त्रीको व्यवस्तताका कारण बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए ।
६ माघ २०७८, बिहीवार १३:४० बजे प्रकाशित













