एकैपटक १० कर्मचारीको सरुवा, कामकाज प्रभावित
बैतडीको दोगडाकेदार गाउँपालिकाका १० जना कर्मचारीको एकैपटक सरुवा भएको छ। एकैपटक धेरै कर्मचारीको सरुवा हुँदा कामकाज प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।
उनले भने, ‘एकैपटक बढी संख्या कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’कर्मचारी सरुवा भएसँगै गाउँपालिकामा रहेका आठ वडाममध्ये वडा नम्बर १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। वडाहरूमा सचिव नहुँदा वडाको कामकाज पनि प्रभावित भएका जनाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक जना इन्जिनियर, दुई जना सब-ओभरसियर, एक जना कम्युटर अपरेटर र एक जना आन्तरीक लेखा परिक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।
स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरूलाई उनीहरूको निवेदनका आधारमा कामकाज गर्ने गरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसँगै स्थानीय तहका कर्मचरीहरूको सरुवा गरिएको हो। स्थानीय तहका कर्मचारीहरूको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ।
लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरूलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो।
१७ पुस २०७८, शनिवार १६:१९ बजे प्रकाशित

















