खाद्य व्यवस्थाले पाएन गुणस्तरीय धान, खरिद प्रक्रिया नै रोकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले यसवर्ष गुणस्तरीय धान नै पाउन सकेको छैन । यही मंसिर २२ गतेदेखि धान खरिद गर्न सुरु गरेको खाद्य व्यवस्थाले गुणस्तरीय धान पाउन नसकेपछि खरिद प्रक्रिया नै रोकेको छ ।

खाद्य व्यवस्थाले यस वर्ष कैलालीमा टीकापुरको सत्ती र धनगढीको मोहनपुर तथा कञ्चनपरमा धान खरिद गर्न सुरु गरेको थियो । तर गएको असोज ३१ गतेदेखि तीन गतेसम्म आएको बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेपछि खाद्य व्यवस्थाले गुणस्तरीय धान पाउन नसकेको हो । किसानले विक्रीका लागि विक्री केन्द्रसम्म ल्याएका धान खाद्य व्यवस्थाको मापदण्डभित्र नपरेपछि फर्काइदिएको छ ।

किसानले ल्याएको धानमा अत्याधिक चिस्यान भएका कारण खरिद प्रक्रियामा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख एन्जिला बस्नेतले बताइन् । उनले खाद्य व्यवस्थाको मापदण्डअनुसार १८ प्रतिशत भन्दा बढी चिस्यान भएको धान खरिद गर्न मिल्र्दैन ।

‘अहिले किसानले ल्याइरहेको धानमा १८ प्रतिशत भन्दा बढी चिस्यान देखिएको छ,’ उनले भनिन्, ‘बढी चिस्यान भेटिएपछि धान खरिद केन्द्रमा आएका किसानलाई धानसहित फर्काउन बाध्य छौं । मापदण्ड अनुसारको धान नआउँदा अहिले खरिद गर्ने प्रक्रिया नै रोकेका छौं ।’

यसअघिको बेमौसमी वर्षाले भिजेको धानमा अत्याधिक चिस्यान भएको उनले बताइन् । किसानहरुले राम्रो धान हो भन्दै नमुना ल्याउने गरेको भएपनि चेकजाँच गर्दा मापदण्ड भित्र नपर्ने गरेको उनको भनाई छ । उनले केहीले भिजेको र नभिजेको चामलसमेत एकै ठाउँमा मिसाएर ल्याउने गरेको बताइन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीका लागि ३५ हजार क्वीन्टल कञ्चनपुरका लागि ६ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, अहिलेसम्म मुस्किलले १० क्विन्टल धान मात्रै खरिद भएको बस्नेतले बताइन् ।

उनका अनुसार कैलालीमा ६ र कञ्चनपुरका एक स्थानबाट धान खरिद गर्न केन्द्रले स्वीकृति दिइएको थियो । कम्पनीले गत वर्ष जिल्लाका विभिन्न आठ ठाउँमा खरिद केन्द्र राखेर धान खरिद गरेको थियो । यस वर्ष पनि त्यति नै ठाउँमा खरिद केन्द्र खोल्ने लक्ष्य भएपनि सुरुवातका दुबै ठाउँमा राम्रो धान आउन नसकेपछि थप केन्द्र विस्तार नगरिएको कम्पनीका प्रदेश प्रमुख बस्नेतले बताइन् ।

‘सुरुमा धान कस्तो आउँछ भनेर हेर्नको लागि टिकापुको सत्ती क्षेत्र र मोहनपुरको आफनै गोदाममा धान खरिद केन्द्र राखेका थियौं’ उनले भनिन्, ‘त्यहाँ नै राम्रो धान आउन नसेकेपछि अरु ठाँउमा सुचारु गरेका छैनौं ।’ किसानहरुले सफा धान नल्याएका कारण अहिले धान खरिद नभएको उनले बताइन् । गतवर्ष ६५ हजार क्वीन्टल धान खरिदको लक्ष्य पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७३ हजार ५०० क्वीन्टल धान खरिद गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंसिर १५ गते कैलाली, कञ्चनपुरमा यस बर्षका लागि धान खरिदको कोटा निर्धारण गरेको थियो । यसवर्ष भने जम्मा ४१ हजार मेट्रिकटन धान मात्रै खरिद गर्ने गरी कोटा निर्धारण गरिएकोमा त्यो पनि पूरा नहुने भएको छ । कम्पनीले यसवर्ष मोटो धान प्रतिक्वीन्टल दुई हजार ७५२ रुपैयाँका दरले खरिद गरिरहेको छ ।


२ पुस २०७८, शुक्रवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु