चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस् : देउवा
फाइल फोटो
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् ।आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न उठ्ने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् ।
‘अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ’ उनले भने ।
आफू सभापतिमा निर्वाचित नभए प्रधानमन्त्रीबाट हटाउने पनि उनले बताए । ‘‘मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ?’ उनले प्रश्न गरे ।
देउवाले आफूलाई महाधिवेशनमा जिताए सबैको माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाए । प्रधानमन्त्री देउवाले देशमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताए ।
२६ मंसिर २०७८, आइतवार १४:२३ बजे प्रकाशित














