निर्माता छवि ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किए
निर्माता छविराज ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन्। पछिल्लो पटक ‘मंगलम’ निर्माण गरेका उनी पत्नी शिल्पा पोखरेलसँगको झगडापछि मौन थिए।
शिल्पासँगको झगडाले प्रहरी हुँदै अदालतसम्म पुग्नु परेपछि तनावमा रहेका उनले अब फिल्म निर्माणमा फर्किने निर्णय लिएका हुन्।
शिल्पा र छविराजबीच अहिले सम्बन्ध विच्छेदको मुद्दा अदालतमा चलिरहेको छ। त्यहीकारण उनी फिल्म निर्माणमा आउन सकेका थिएनन्। तर उनले यसै साता आफ्नो ५७ औँ जन्मदिनका अवसरमा नयाँ फिल्मको गीत रेकर्ड गराएका छन्।
गीतमा प्रविशा अधिकारी र डेविड शंकरले स्वर दिएका छन्। यसमा दीपक शर्माको शब्द र संगीत छ। यसअघि छविराजले बनाएको फिल्म ‘मंगलम’ को चर्चित गीत ‘पर्ख पर्ख मायालु।।।’ पनि दीपकले नै बनाएका थिए।
ओझाले यो पटक निर्देशकमा नवराज शर्मालाई छानेका छन्। शर्माले यसअघि सयभन्दा बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन्।उनी यही फिल्मबाट निर्देशकका रुपमा आउन लागेका हुन्। अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको ओझाले बताए
दुई महिनापछि छायाँकन सुरु हुने उनले बताए। फिल्मका लागि कलाकार छनोट सुरु गर्न लागिएको ओझाले बताए। अहिलेसम्म आफूले राम्रो फिल्म बनाउने कोशिश गरेको बताउँदै ओझाले यसअघि नारी प्रधान फिल्म बनाउँदै आएका थिए।
यसपटक युवापुस्तालाई लक्षित गर्दै फिल्म बनाउन लागेको उनले बताए। ‘निर्देशक नवराज शर्माको सोचमा फिल्म बन्दैछ। मेरो हिसाबमा चाहिँ फिल्म पूर्णत लभस्टोरी हुनेछु, उनले भने, ‘स्क्रिप्ट र गीत हेर्दा फिल्म राम्रो बन्छ भन्नेमा म ढुक्क छु।’
१६ मंसिर २०७८, बिहीवार १२:४३ बजे प्रकाशित































