क्यानले सोध्यो कप्तान मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टीकरण सोधेको छ।
खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै सेतोपाटीमा आफ्नो अभिव्यक्ति दिएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण मागेको हो।
आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन क्यानले समय दिएको एक खेलाडीले बताए। यसअघि गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडिओमार्फत् राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि प्रकट गरेका थिए।
अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि गरिएको खेलाडी वर्गीकरणमा खेलाडीहरूले प्रश्न उठाएका थिए। क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा कप्तान ज्ञानेन्द्रसहितका खेलाडीको असन्तुष्टि थियो।
वर्गीकरणमा खेलाडीको श्रेणी निर्धारणमा भेदभाव भएको भन्दै केही खेलाडीले सम्झौतामा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेका थिए।
क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूमै गर्नु पर्नेमा वर्ष सकिन लाग्दा गरेको थियो। यो अवधिमा उत्कृष्ट खेलेका खेलाडी नै वर्गीकरणमा नपरेपछि खेलाडी असन्तुष्ट बनेका थिए। खेलाडीलाई स्पष्टीकरण सोध्नुअघि क्यानको कुनै बैठक बसेको छैन।
२९ कात्तिक २०७८, सोमवार १५:०३ बजे प्रकाशित












