भारत जानेलाई एन्टिजेन परीक्षण
किनमेल, स्वास्थ्य उपचार तथा रोजगारीका लागि भारततर्फ जाने नेपालीहरूको एण्टिजेन परीक्षण सुरु गरिएको छ । भारतीय पक्षले यसै सातादेखि परीक्षण गर्न थालेको हो ।चाडपर्वका समयमा किनमेलका लागि सीमावर्ती बजार जानेको संख्या बढेको थियो । यसैलाई मध्यनजर गरी एन्टिजेन परीक्षण सुरु गरिएको हो । रोजगारीका लागि जाने सबैको र किनमेलका लागि जानेमध्ये ज्वरो आएकाहरूको परीक्षण भइरहेको स्थानीयले बताए ।
‘यहाँबाट जाने अधिकांशको परीक्षण भइरहेको छ,’ गड्डाचौकीका स्थानीय विष्णु भाटले भने, ‘पोजिटिभ आएपछि घर फिर्ता पठाइदिन्छन् ।’ उनकाअनुसार भीड कम भएका बेला सबैको र भीड बढी भएका बेला स्वास्थ्य परीक्षणपश्चात् लक्षण देखिएकाहरूको परीक्षण भइरहेको छ ।
तिहार अघिदेखि नाकामा भारततर्फ परीक्षण सुरु भएको हो । ब्रह्मदेव र बनबासामा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणपश्चात् एन्टिजेन परीक्षण गरिरहेका हुन् । तिहारको अवधिमा दैनिक हजारौंको संख्यामा स्थानीयहरू पूजा सामग्रीदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न सीमापारि भरतीय बजार गइरहेका थिए ।
सीमावर्ती बजार बनबासा, खटीमा र टनकपुरमा ठूलो संख्यामा नेपालीहरू किनमेलका लागि जाने गरेका हुन् ।भारतबाट घर फर्किने नेपालीहरूलाई नेपालतर्फ गत वर्षदेखि नै एन्टिजेन परीक्षण सुरु गरिएको छ । उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्थासमेत गरिएको छ ।
२२ कात्तिक २०७८, सोमवार १३:११ बजे प्रकाशित































