कार्डमा खोपको नाम र नम्बर नलेखिदिँदा दोस्रो डोज पाएनन्

खोप कार्डमा कारोना खोपको नाम र ब्याच नम्बर नहुँदा सुर्माका नागरिक कोरोना खोपको दोस्रो मात्राबाट बञ्चित भएका छन्।सुर्माको सिद्ध मनाना स्वास्थ्य चौकी खोप केन्द्रबाट २०७७ चैत १७ मा पहिलो मात्रा लगाएका सेवाग्राहीको खोप कार्डमा खोप लगाउने स्वास्थ्यकर्मीले खोपको नाम र ब्याच नम्बर उल्लेख छैन।

जिल्ला स्वास्थ कार्यालयले बझाङमा बिहीबार र शुक्रबार दोस्रो मात्रा खोप लगाइएको थियो। त्यहाँ दोस्रो मात्रा लगाउन पुगेका सुर्मा–२ का ५७ वर्षीय खन्टे बोहरा, ६० वर्षीया मातादेवी बोहरा, ७४ वर्षीय अंगे बोहरालगायतले खोप कार्डमा खोपको नाम र ब्याच नम्बर नभएकाले दोस्रो मात्रा लगाउन पाएनन्।

दिनभर हिँडेर खोप लगाउन जिल्ला अस्पताल पुगेका उनीहरु खोप नलगाएर फर्काइएपछि समय खेर गएको भन्दै आक्रोशित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले खोप कसरी लगाउने ? खोप कार्डमा के के उल्लेख गर्ने ? भन्ने प्रशिक्षणमा सिकाइएको भए पनि यो कमजोरी स्वास्थ्यकर्मीकै भएको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले स्वीकार गरे। जोशीका अनुसार फर्काइएका उनीहरुलाई केही दिनपछि सिद्धमनाना स्वास्थ्य चौकीको रजिष्टर हेरेर फेरि खोप लगाइने छ।


१३ कात्तिक २०७८, शनिवार ०७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु