साफ च्याम्पियनसिप : फाइनलमा नेपाल पराजित, इतिहास रच्ने सपना अधुरै
साफ च्याम्पियनसिपमा नेपाल उपबिजेतामा सीमित बनेको छ । नेपालको उपाधि जितेर नयाँ इतिहास रच्ने सपना अधुरै रहेको छ ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो ।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको आजको खेलमा वर्षाले प्रभावित बनेको खेलमा दुवै टोलीले आफ्नो स्वभाविक लयमा खेल्न सकिरहेका थिएनन् । पहिलो हाफमा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो । सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले जाली चुमाउन सकेनन् । उता, भारतको निरन्तर आक्रमणलाई गोलकिपर किरण चेम्जोङले बचाऊ गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै नेपालले दुई गोल खान पुग्यो । कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि सम्हालिन नपाउँदै भारतले दोस्रो गोल गर्यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुद समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए ।
योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी आजको खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएका थिएनन् ।
३० असोज २०७८, शनिवार २२:५४ बजे प्रकाशित













