punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनले सिकाएको ब्यापार : मिडियासंगै ‘फुडमार्ट’

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर १ पुस्पलाल चौकको उत्तरतिरको एक तीन तले घरको पहिलो तलाको एउटा कोठामा कुनै ग्राहकले फोन गरेर नास्ताको अर्डर गरे । अर्डर टिप्दैथिए निकेन्द्र बुढा । सजाइएको एउटा कोठामा दुई कुर्सी, दुई टेबुल अनि साइडमा दराज । दराज भित्र विभिन्न रजिस्टर अनि साइडमा बस्नका लागि सुन्दर सोफा । हेर्दा कुनै एक अफिस जस्तो । वरपर हेर्दा न किचेन देखिन्छ न कुनै ग्राहकका लागि बस्ने टेबुल कुर्सी । तर टेबुलमा राखिएको फोन सेटमा दिनभर ग्राहकका फोन आउँछन् र विभिन्न किसिमका नास्ताको अर्डर गर्छन् । अर्डर टिप्ने काम गर्नछन् उनै निकेन्द्र ।

अर्डर लिने मात्रै नभई सोही तलाको अर्कोपट्टि किचेनको पनि व्यवस्था गरिएको छ । अर्डर अनुसार नास्ता बनाएर ग्राहकलाई पुर्याउने अर्थात डेलिभरी गर्ने । नास्ता डेलिभरी सेवा निःशुल्क । अहिले उनले आकर्षक तलव दिएर एक कुकम्यान र डेलिभरी गर्ने व्यक्ति र सहयोगी गरेर तीन जनालाई काम दिएका छन् यसैका लागि । मेरो साथी सुपर सर्भिसको नामबाट व्यवसायनै दर्ता गरेर उनले अहिले यो व्यापार चलाइरहेका हुन् । जुन धनगढी मात्रै नभई सुदूरपश्चिमका लागि नयाँ व्यापार हो । साथी सुपर सर्भिस अन्तर्गत उनले ‘फुडमार्ट धनगढी’ नाम दिएर नास्ताको अर्डर लिन्छन् र निःशुल्क नास्ता डेलिरी गर्छन् ।

यो किसिमका ब्यापार सुदूरपश्चिमकै लागि पहिलो भएको निकेन्द्रकै दाबी हो । ‘अर्डर लिने र केही शुल्क लिएर डेलिभरी गर्ने काम होटलहरुसमेत गर्छन्,’ उनले भने, ‘नास्ता बनाएर डेलिभरी मात्रै गर्ने यो सेवा भने यहाँको पहिलो हो । बरु अहिले केही व्यक्तिहरुले पनि यो सेवा सुरु गर्ने तयारी गरिरहेका छन् भन्ने सुनेको छु ।’ उनको फुडमार्टमा अहिले बिर्यानी, दम बिर्यानी (हैदराबादी विशेष), मःम, चाउमिन, राइसगायतका नास्ताका परिकार बनाउँछन् । छिटै नै बर्गर र पिज्जा पनि बनाउने उनको योजना छ ।

उनको यो ब्यापारले छोटो समयमै राम्रो ‘माइलेज’ लिएको छ । खासमा यो ब्यापार उनले अघिल्लो लकडाउनमै सुरु गरेका थिए । होटलहरु बन्द भएपछि अर्डर लिएर डेलिभरी गर्ने यो ब्यापार त्यसबेला प्रभावकारी पनि बन्यो । तर कोरोना संक्रमण तीब्र बन्दा जोखिम बढेपछि त्यतिकै रोकियो । सुरुवातमा खासै व्यवस्थित पनि हुन सकेको थिएन । त्यसबेला साथीहरुसंगै मिलेर काम गरेका निकेन्द्रले यो ब्यापारको बारेमा राम्रोसंग बुझिसकेका थिए । अहिले असोज १ गतेदेखि भने उनले व्यवस्थित तरिकाले यो डेलिभरीसहितको ‘फुडमार्ट धनगढी’लाई अगाडि बढाएका छन् ।

ब्यापार स्थापना गरेपछि उनले पुराना ग्राहकलाई पनि फोन नै गरेर जानकारी गराए र थप प्रचार–प्रसार पनि गरे । अहिले पनि गरिरहेका छन् । अहिले छोटो समयमै औसतमा दैनिक १० हजार रुपैयाँ भन्दा बढीको नास्ताको अर्डर लिन्छन् उनी । दैनिक माग बढिरहेको उनी बताउँछन् । ‘धेरैलाई यो ब्यापारबारे जानकारी छैन,’ उनी भन्छन्, ‘अझै प्रचार–प्रसार पुगेको छैन । थाहा पाएका व्यक्तिहरुले मगाइरहेका छन् । मानिसहरु बजारकै रेटमा पाउने नास्ता निःशुल्क रुपमा आफू भएकै ठाउँमा पाएपछि खुशी पनि छन् । राम्रो प्रतिक्रिया आइरहेको छ ।’ एक पटक नास्ता मगाएकाहरुले पछि पनि मगाइरहेकाले यो सेवालाई मनपराइरहेको भनेर उनी बुझ्छन् ।

फुडमार्टको नास्ताको डेलिभरी सेवा धनगढीभर छ । धेरै परिमाणमा नास्ताको अर्डर आएमा भने २० किलोमिटरसम्म पनि निःशुल्क डेलिभरी सेवा दिइरहेको सञ्चालक निकेन्द्र बताउँछन् । ‘नास्ताको परिमाण धेरै भयो भने २० किलोमिटर टाढा फुलबारीसम्म पनि डेलिभरी गरिरहेका छौं,’ उनी भन्छन्, ‘गेटा र छिमेकी नगरपालिकाको अत्तरिया क्षेत्रसम्म पनि नास्ता निःशुल्क रुपमा डेलिभरी गरिरहेका छौं । एक कल गरेर नास्ताको अर्डर गरे मात्रै केही समयको फरकमा ग्राहक भएकै ठाउँमा नास्ता पुर्याउँछौं ।’

शाखा विस्तार गर्ने योजना

छोटो समयमै फुडमार्टले राम्रो बजार लिएपछि हांैसिएका निकेन्द्र बुढा यसलाई राम्रो ब्राण्डको रुपमा विकास गर्ने योजनामा पुगिसकेका छन् । फुडमार्ट धनगढीको नामबाट कैलालीकै टीकापुर, गोदावरी नगरपालिकाको अत्तरिया र कञ्चनपुरको महेन्द्रनगर बजारमा शाखा विस्तार गर्ने योजना रहेको उनी सुनाउँछन् ।

यो ब्यापारले ग्राहकको विश्सास जित्दै गएको उनी बताउँछन् । ‘सुरु सुरुमा यो ब्यापार सुरु गर्दा कस्तो नास्ता ल्याउने हो भनेर पनि भन्ने गरेका थिए ग्राहकहरु,’ उनले भने, ‘अहिले तिनै मानिसहरु आफूलाई चाहेको बेला नास्ताका लागि अर्डर गर्छन् । यसरी पुनः नास्ता मगाउनु राम्रो संकेतको रुपमा लिएको छु ।’ यसैगरी ब्यापारले फड्को मार्दै गए शाखा विस्तार गर्न पनि कुनै गाह्रो छैन ।

मिडियासंगै ब्यापार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि जोखिम बढ्यो । उत्तरी छिमेकी देश चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्ततः नेपालमा पनि देखा पर्यो । नेपालमा कोरोना भाइरस संक्रमणको केही केस देखिने वित्तिकै डेढ वर्ष अघि २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरियो । संक्रमणको जोखिम कम गर्न सीमा नाका सिल गरियो भने देशभर लकडान घोषणा भयो । अत्यावश्यक सेवाबाहेक सबै बन्द गरियो । त्यसमध्ये सञ्चार माध्यम पनि अत्यावश्यक सेवामा थियो । समाचार कक्षमा काम गर्ने पत्रकार नै बेतलबी हुने अवस्थामा अधिकांश सञ्चार माध्यममा अन्य कर्मचारीलाई बेतलबी बिदा दिइएको थियो ।

निकेन्द्र त्यसबखत धनगढीकै रेडियो सुदूर सन्देशमा व्यवस्थापकको रुपमा काम गरिरहेका थिए । तर सोही बेला रेडियो अर्को ठाउँमा सार्नुपर्ने भएको हुँदा रेडियो बन्द थियो । त्यो बेला उनी त्यसैपनि कामविहीन बनिसकेका थिए । कामविहीन भएपछि उनले साथीसंगै मिलेर यो नास्ता डेलिभरी गर्ने काम सुरु गरेका थिए । फेसबुकमा ‘फुडमार्ट धनगढी’ नामको पेज बनाएर प्रचार–प्रसार पनि सुरु गरे । धनगढीकै हसनपुर क्षेत्रमा सानो किचेन बनाएर नास्ताको अर्डर लिने र डेलिभरी गर्ने काम सुरु गरे । लकडाउनमा यो डेलिभरी सेवा प्रभावकारी पनि बन्यो । कामले बजार बनाइरहेका बेला कोरोना भइरसको जोखिम बढेपछि यो काम त्यतिकै रोकियो । केही महिना घरमै समय बिताएका निकेन्द्रले केही समयपछि धनगढीकै अर्को एक रेडियो डेलिमेलमा काम गर्न सुरु गरे ।

रेडियोको कमाईले मात्रै उनी सन्तुष्ट हुन सकेनन् । त्यसमैमाथि पार्ट टाइम जागिर । एक वर्ष अगाडि लकडाउनमा सुरु गरेको ब्यापारलाई पनि अगाडि बढाउने योजना बुने । थोरै लगानी गरेर अहिले उनले ‘फुडमार्ट धनगढी’ व्यवस्थित तरिकाले अगाडि बढाएका छन् । साथमा मोड्लिङ क्षेत्रमा पनि सक्रिय रहेका उनले अहिले त्यो क्षेत्रलाई पनि समय दिन भ्याइरहेका छन् । उनी विगत आठ÷नौं वर्षदेखि मोड्लिङ क्षेत्रमा पनि सक्रिय छन् । उनले दजनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

 


१९ असोज २०७८, मंगलवार ११:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु