राष्ट्रिय जनगणना : दार्चुलामा घरपरिवार सूचीकरण सकिदै
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत दार्चुलामा घर तथा घरपरिवार सूचीकरणको अन्तिम चरणमा पुगेको छ । घर तथा घरपरिवार सूचीकरण गर्न यहाँका गाउँगाउँमा खटिएका सुपरीवेक्षकले काम अन्तिम चरणमा पुर्याएका छन् ।
जिल्लाको अपिहिमाल, दुहुँ नौगाडबाहेकका अधिकांश स्थानीय तहमा खटिएका सुपरीवेक्षकले काम अन्तिम चरणमा पुगेको जानकारी गराएका छन्, जिल्ला जनगणना कार्यालयका प्रमुख पदम पाण्डेले बताए ।
सूचीकरणका लागि गत भदौ ३० गतेदेखि ४९ जना सुपरीवेक्षक गाउँ खटिएका छन् । सुपरीवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ । असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा घर र परिवार संख्या गणना भइरहेको उनले बताए ।
सुपरीवेक्षकहरुले घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनमा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्न सुपरीवेक्षकले सोध्ने गरेका छन् । गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई संकलन गरेको तथ्यांक इन्ट्री केही दिन लाग्ने उनले बताए ।
भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक सबै इन्ट्री गर्न दशै पछिसम्मको समयावधि दिइएको छ । जिल्लामा कर्मचारी र डेरा गरी बस्नेहरुको तथ्याङ्क संकलनमा केही समस्या भएको पाण्डेले बताए। अन्य व्यक्तिबाट कुनै असहयोग भएको छैन् उनले भने, डेरावाला र कर्मचारीलाई बढि सम्झाइ बुझाई डाटा लिनुपरेको छ ।
विसं २०६८ को जनगणनाअनुसार दार्चुलाको जनसंख्या १ लाख ३३ हजार २ सय ७४ र परिवारको संख्या २४ हजार ६१८ रहेको छ । २०५८ मा भएको जनगणना अनुसार जिल्लाको जनसंख्या १ लाख २१ ह्जार ९९६ र परिवार संख्या २१ ह्जार ५९ रहेको थियो । पछिल्लो जनगणनाअनुसार जिल्लामा हरेक १० वर्षमा परिवार र जनसंख्या बढ्दै गएको देखिएको छ ।
पहिलो चरणमा संकलित तथ्यांकका आधारमा मूल गणना गरिने कार्यालयले जनाएको छ। मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हरेक १०÷१० वर्षमा जनगणना हुने गर्छ । यसपल्टको जनगणना ‘मेरो गणना, मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८’ नाराका साथ भइरहेको छ
१९ असोज २०७८, मंगलवार ०९:३७ बजे प्रकाशित































