कञ्चनपुरमा सिद्धनाथ मन्दिरलाई चढाइएका साढे ६ क्विन्टल घन्ट गायब !

कञ्चनपुर महेन्द्रनगरस्थित सिद्धनाथ मन्दीरमा चढाइएका घन्टहरू मन्दिर व्यवस्थापन समितिले नै लिलाम गरी बिक्री गरेको फेला परेको छ । श्रद्धालु भक्तजनले मन्दिरमा चढाएका घन्ट बिक्री गरेको पाइएको हो ।

प्रहरीले छापा मार्दा महेन्द्रनगरस्थित ठकुराठी भाँडावर्तन पसलमा उक्त घण्टी फेला परेका हुन् ।करिब साढे ६ क्विन्टल बराबरका उक्त घन्ट सिद्धनाथ मन्दिर व्यवस्थापन समितिले नै बेचेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठकुराठीको गोदामबाट ठूलो परिमाणमा घन्ट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवक्ता सिद्धराज न्यौपानेले घन्ट नियन्त्रण लिइएको र त्यसबारे थप अनुसन्धान भइरहेको बताए ।

भाँडावर्तन पसल सञ्चालक पदम ठकुराठी आफूले मन्दिर समितिबाटै घन्ट किनेर ल्याएको दाबी गरे । मन्दिर व्यवस्थापन समितिले बिक्रीका लागि सूचना जारी गरेपछि आफूले खरिद गरेको उनले बताए ।

त्यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतसिंह भण्डारीले पनि समितिले नै घन्ट बेचेको स्वीकारे । समितिको निणर्यबाट हरेक वर्ष घन्ट बेच्दै आएको उनले जानकारी दिए । ‘हामीले मन्दिर व्यवस्थापन समितिको साधारणसभाको निणर्यबाटै घन्ट बेचेको हौँ,’ अध्यक्ष भण्डारीले भने, ‘पुराना घन्टलाई व्यवस्थापन गर्न नसकिने भएकाले बेचिएको हो ।

सोही पैसाले ठूलो घन्ट किन्छौँ । त्यो पैसा समितिकै खातामा छ ।’ नामसमेत लेखेर मन्दिरमा भक्तजनले चढाएका घन्ट बिक्री भएको पाइएपछि स्थानीय आक्रोशित छन् ।


१० असोज २०७८, आइतवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु