माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले निर्वाचनबाट वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने भएको छ ।आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले वडा, प्रदेश, संघीय निर्वाचन क्षेत्र, जिल्ला, र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो।

केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने छन्।

उनका अनुसार राष्ट्रिय सम्मेलनअघि नै तल्ला कमिटीको सम्मेलन सकिनेछ र नयाँ नेतृत्व चयन हुनेछ।माओवादीको निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ।

सोमबार केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता पुनले सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने बताउँदै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका छन्।

बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए।

बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच–पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए।प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने पनि उनले जानकारी दिएका छन्।


५ असोज २०७८, मंगलवार १२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु