सीमावर्ती क्षेत्रबाट चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमावर्ती क्षेत्रबाट चोरीको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ थलारा घर भई हाल पुनर्वास नगरपालिका ६ ङ गाउँ बस्ने ३६ वर्षीय रमेश मिजार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको मातहत रहेको अस्थायी प्रहरी पोष्ट आईबीआरडीबाट खटिएको टोलीले गए राती करिब १२ बजेको समयमा भारतबाट नेपाल भित्र्याइरहेको अवस्थामा मोटरसाइकल सहित सीमावर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

सेतो रङको अपाचे १५० सिसीको मोटरसाइकल वास्तविक नम्बर प्लेट नै नभई शङ्कास्पद ढङ्गमा रहेको र सीमा क्षेत्रबाट मोटरसाइकल चलाई नेपाल भित्र आइरहेको अवस्थामा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिए ।

चेकजाँचमा मिजारसँग मोटरसाइकलको कुनै पनि कागजात नभएको र यातायात कार्यालयसँग सम्पर्क गर्दा गाडीको केही रेकर्ड नभएको पाइएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

चोरीमा संलग्न रमेश मिजार माथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।


२९ भदौ २०७८, मंगलवार ०८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु