कांग्रेस वडा अधिवेशन आजदेखि सुरू
नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत आजबाट वडा अधिवेशन प्रारम्भ गरेको छ । सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन २३ गतेभित्र सक्ने तयारी छ ।
तर सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएकाले चरणबद्ध वडा अधिवेशनमा जुटेको हो । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा अधिवेशन विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । आजबाट सुरु गरेर २३ गतेसम्ममा वडा अधिवेशन सक्ने र २७ गतेबाट सुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको उनले बताए ।
कांग्रेसले आज करिब ४० जिल्लामा वडा अधिवेशन गर्दैछ । सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ । सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित हुनेछन् । कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ ।
१८ भदौ २०७८, शुक्रवार ०८:४४ बजे प्रकाशित













