बेपत्ता भएको ३३ वर्षपछि आफ्नै भाषासमेत बिर्सिएर फर्किए लोकुन
कैलालीको भजनी नगरपालिका वडा नम्बर ७ टिकलीगढका लोकेन्द्र भनिने लोकुन डगौरा थारु ३३ वर्ष अघि भारतको सिम्लामा काम गर्न गए । काम गर्न गएको केही समयपछि उनी परिवारको सम्पर्कबाट विच्छेद भए । उनको अवस्था अज्ञात भयो । परिवारले उनको खोजी पनि गर्यो, तर भेटाउन सकेन । लामी समयसम्म अज्ञात रहेपछि परिवारले उनी फेला पर्ने आशा पनि मार्यो ।
लोकुन सिम्ला जाँदा उनका छोरा रामबहादुर जम्मा चार वर्षका मात्रै थिए । उनीपछि अरु दुई भाई पनि थिए । घरको कमाउने मान्छेनै पराई देशमा बेपत्ता भएपछि उनीहरुलाई खान लाउन समस्या भयो । जसोतसो उनकी आमाले तीन छोराको पालनपोषण गरिन् । तर उनी धेरै समय बसिनन् । साना दुई छोरा साथमा लिएर अर्कैसंग विहे गरेर हिँडिन् । रामबहादुर र उनका बाजे मात्रै रहे घरमा । घरमा खान लाउन उस्तै समस्या । रामबहादुरले दुःखमाथि दुःख पाए ।
केही वर्षपछि बाजेले पनि संसार छोडे । राम एक्लै भए । उनी आफन्तको शरणमा पुगे । पछि ठूलो भएपछि मात्रै उनले आफ्नो बुवा हराएको थाहा पाए । उनी आफ्नो घरमा फर्किए । घरजम गरेर बसे । रामले आफू जान्नेबुझ्ने भइसकेपछि पनि बुवाको बारेमा चासो राखे । तर लामो समयदेखि बेपत्ता भएका बुवा भेटिनुहुन्न भन्ने थियो उनलाई ।
समय बित्दै गयो । तर बुवा हराएको ३३ वर्षपछि उनलाई अचानक आफ्नो बुवा फेला परेको खबर पुग्यो । उनको खुशीको सीमा रहेन । अनुहारसम्म याद नभएका बुवा भेटिएको खबरसंगै त्यसैलाई पुष्टि गर्न प्रहरी पनि गाउँमै पुग्यो, घरसम्मै पुग्यो। प्रहरीले उनको बुवाको बारेमा सोधी खोजी गर्यो । उनी र उनका गाउँका मानिसहरुले भने अनुसार प्रहरीले रामबहादुरका बुवा उनै लोकुन डगौरा भएको ‘कन्फम’ गर्यो र नेपाल ल्याउने तयारी भयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ३३ वर्ष अघि भारतको सिम्लाबाट हराएका ६२ वर्षीय लोकुन भारतको विहार राज्य गया जिल्ला बाराचट्टीमा फेला परेका बताए। भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले गृह मन्त्रालयबाट लोकुन भारतको विहारमा फेला परेको भन्ने खबर कैलाली प्रहरीलाई पठाएका थिए।
उनले भारतीय पक्षसंग समन्वय गरेर उद्दार गर्न जानकारी गराए बमोजिम कैलालीका प्रहरी प्रमुख एसपी अधिकारी भारतको विहार राज्य गया जिल्ला बाराचट्टीका सन्दिप यादवमार्फत लोकुनसंग सम्पर्क स्थापित गर्न सफल भए ।
सन्दिपले भदौ ९ गते बेलुकी ६ बजे गयास्थित नेशनल हाइवेमा फेला पारे । सन्दिपले लोकुनलाई आफ्नो घरमा जाउँ भन्दा उनी डराएका थिए । प्रहरीका अनुसार सन्दिपले जाउँ भन्दा उनले बरु ५० रुपैयाँ लैजानुहा्ेस् म जाँदैन पनि भनेका थिए। तर सन्दिपले फकाएर आफ्नो घरमा ल्याई नेपालमा सम्पर्क गरे । तर लोकुन फेरि विहानै घरबाट भागे । उनले फेरि खोजी गरेर फेला पारेर घरमा ल्याएर राखे।
कैलाली प्रहरीले लोकुनको घर ठेगाना र आफन्तको यकिन गरेपछि भारतीय प्रहरी र सन्दिप यादवको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा हस्तान्तरण गरियो । उनी पर्सा प्रहरीको सम्पर्कमा आइसकेपछि कैलाली प्रहरीले उनका छोरा रामबहादुरलाई पर्सा पठाएर त्यहाँबाट कैलाली ल्याए । कैलाली ल्याएपश्चात कैलाली प्रहरीले विहीबार पत्रकार सम्मेलन गर्दै लोकुनलाई उनका छोरा र आफन्तको जिम्मामा लगाएको छ ।
एसपी अधिकारीका अनुसार लोकुनले आफ्नो भाषासमेत भुलिसकेका छन् । उनी आफ्नो थारू भाषा पनि बोल्दैनन् । हिन्दी मात्रै बोल्छन् । सबै कुरा स्मरण र अभिव्यक्त गर्ने अवस्थामा छैनन् ।
तर प्रहरीले उनी भारतमा हुँदा सन्दिपको सहयोगमा भिडियो च्याटमा कुराकानी गर्दा उनले आफ्नो घर कैलालीको टीकापुरको मनुवा आसपासमा हो भनेर बताएका थिए । त्यसपछि प्रहरी उनको फोटोसहित टीकापुर भजनी क्षेत्रमा घर तथा आफन्त पत्ता लगाउन खटिएको थियो ।
आफ्नो जन्मदिने बुवा पत्ता लागेर आफ्नै अगाडि आएपछि रामबहादुरको खुशी सीमा छैन । बुवालाई लिन उनी परिवारसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । लामो समयदेखि बेपत्ता रहेका लोकुनलाई पत्ता लगाएर परिवारलाई जिम्मा लगाउँदा खुशी महशुस भएको बताए ।
१७ भदौ २०७८, बिहीवार २२:३३ बजे प्रकाशित













