खेट्टीको भेजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

मेलौली नगरपालिका-७ ल्वाथलीमा मृत फेला परेकी ३६ वर्षीया खेट्टी मल्लको भेजाइनल स्वाब र भिसेरा परीक्षण लागि काठमाडौं पठाइएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका-३ लामीकाँडे घर भएकी मल्ल साउन ८ मा मृत फेला परेकी थिइन्।

उनको कसरी मृत्यु भयो भन्ने पुष्टि गर्न भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले  जानकारी दिए।

भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा परीक्षणका लागि पठाइएको हो। उनले भने, ‘स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउन बाँकी रहेको छ।’

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको महिलाको शव परीक्षण रिपोर्ट हृदयघातका कारण मृत्यु भएको बताइएको छ। शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन।

प्रहरी निरीक्षक शाहीले भने, ‘हृदयघाटका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कलडिटेल, उक्त दिन क–कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौं।’

ती महिला साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली-५ सेरी हिँडेकी थिइन्। तर‚ माइतीघर नपुग्दै मल्ल बीचबाटोमै मृत अवस्थामा फेला परेकी हुन्। मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन्।


२३ साउन २०७८, शनिवार १५:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु