दार्चुला प्रशासनले पनि भन्यो, ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाप्रति स्थानीय प्रशासनले प्रतिक्रिया जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति निकाल्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले नै तुइन काटिदएको भन्ने पुष्टि भइनसकेको जनाएको हो ।

‘एसएसबीका जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित सूचना/समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ,’ जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सो घटना अनुसन्धान÷छानविनकै क्रममा रहेकाले सत्यतथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने किसिमका कुनै पनि तथ्यहिन सूचना÷समाचार प्रकाशन नगरिदिन अनुरोध छ।

प्रशासनले घटनास्थलमा सशस्त्र प्रहरी बल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलमा खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउन खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको समाचारहरु सम्प्रेषण भएका थिए ।

स्थानीयको हवाला दिँदै सम्प्रेषण भएका ती समाचारहरु पुष्टि नभएको प्रहरीले प्रतिक्रिया दिएपश्चात स्थानीय प्रशासनले पनि आधिकारिक भनाई सार्वजनिक गरेको हो । प्रशासनले अनुसन्धानपश्चात सत्यतथ्य जानकारी गराइनेसमेत विज्ञप्तिमाफर्त जनाएको छ ।

 


१६ साउन २०७८, शनिवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु