नदीपारिको नेपाली बस्ती : सौच गर्न पनि भारतकै भर
नसुनिएको धनगढी भित्रकै लग्गाभग्गा र आँखाफुटे गाउँ
सुदूरपश्चिममा भारतसंग सीमा जोडिएका जिल्लाका सीमाबासी अहिले पनि प्रशासनिक कामबाहेक जीवनोपार्जनका लागि भारतकै भर परेका हुन्छन् । यहाँ त्यस्ता थुप्रै छन्, जो हरेक कुरामा भारतकै भरमा छन् ।
धनगढी उपमहानगरपालिका क्षेत्र भित्रै पर्ने यस्तो बस्ती छ, जुन बस्तीका बासिन्दा दिसापिसाव गर्न पनि भारतीय भूमिमा जान्छन् । जुन बस्ती नेपाल भारतको सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीपारि पर्छ । सो बस्तीको नाम पनि सायदै कसैले सुनेका होलान् ।
उपमहानगरापलिकाको वडा नम्बर १९ भित्रै पर्ने गाउँ हुन् लग्गाभग्गा र आँखाफुटे । यी दुई गाउँका नाम धनगढीकै अधिकांश मानिसले सुनेका पनि छैनन् । जहाँका बासिन्दा नाममा मात्रै नेपाली नागरिक हुन्, जसले राज्यको सेवा सुविधा पाउन सकेका छैनन् ।
धनगढी उपमहानगरपालिका भित्रकै बस्ती हो भन्दा पनि विश्वास गर्न गाह्रो । उनीहरुले नेपाली नागरिकले पाउने सामान्य आधारभुत आवश्यकता पनि पाउन सकेका छैनन् । राज्यबाट अझै उत्पीडनमा परेका छन् उनीहरु ।
बर्खाको समयमा मोहना नदी पारीको यो गाउँ पुग्न डुङ्गा मात्रै एउटै साधन हो । बर्खाको बेला मोहना नदी बढ्ने भएकाले नेपालसंगको सम्पर्क प्रायः विच्छेद हुन्छ । २०५१ सालबाट आवादी भएको यो बस्ती मोहना नदी पारी रहेको भारती दुधुवा नेशनल पार्कसंगै जोडिएको छ । वारिपट्टी हुलाकी राजमार्गको बौलिया गाउँ छ ।
लग्गाभग्गामा २२ घरधुरी छन् भने आँखाफुटेमा सात घरधुरी छन्। दुवै वस्तीमा एक वर्ष अघिसम्म विद्युत सेवा समेत पुगेको थिएन । अहिले विद्युत सेवा पुगेको छ । विद्युतबाहेक त्यहाँ अन्य केही सुविधा पुग्न सकेको छ्रैन । शिक्षा स्वास्थ्य जस्ता सुविधाको त्यहाँ कल्पना पनि गर्न सकिँदैन ।
वर्षायामका चार महिना मोहना नदीमा आउने बाढीका कारण ती वस्तीका बासिन्दाहरूलाई सामान्य औषधीमुलोका लागि पनि भारतीय बजारमै धाउनुपर्छ । उसो त त्यहाँका मानिसहरु बिरामी हुँदा उपचारका लागि प्रायः भारतीय बजारसम्मनै पुग्छन् । त्यहाँबाट भारतीय बजार चन्दनचौकी करिब तीन किलोमिटरको दुरीमा मात्रै पर्छ । यता धनगढी बजारसम्म पुग्न भने ३० देखि ३५ किलोमिटर दुरी पार गर्नुपर्छ उनीहरुलाई ।
‘सामान्य रुघाखोकी, ज्वरोको कुनै प्रवाहनै गर्दैनौं, सहेरै बस्छौं,’ आफ्नो यथार्त सुनाउँदै लग्गाभग्गाका रामबक्स रानाले, ‘बिरामले च्याप्यो वा कुनै ठूलो रोग लाग्यो भने भारतमै पुग्नुपर्छ ।’ 
राना समुदायको बसोबास रहेको सो बस्तीलाई नेपालसंग जोड्न अहिलेसम्म सरकारले कुनै पहल गर्न सकेको छैन । स्थानीय तहले वारपारका लागि हिउँदमा काठको पुल र बर्खामा डुंङ्गा चलाउन ठेक्कामा दिँदै आएको छ । खोलामा काठको पुल र डुंङ्गा चलाएर बर्सेनि कर उठाइँदै आइएको भएपनि पुल निर्माणमा भने अहिलेसम्म कुनै पहल हुन सकेको छ्रैन । तर स्थानीयले आश्वासन पाएको भने वर्षौं वितिसकेको छ ।
जनप्रतिनिधिहरूले भने मोहना नदीमा पुल बनाउने आश्वासन पटक–पटक दिने गरेको स्थानीयको दुखेसो छ । ‘निर्वाचनका बेला भोट माग्न आउँदा नेताहरुले खानेपानी, स्वास्थ्य चौकी, पुललगायतको व्यवस्था गरिदिन्छु भन्छन्,’ रामबक्सले भने, ‘तर चुनाव सकिएपछि अहिलेसम्म कोही पनि फर्केर आएका छैनन् । पुल पनि बन्छ कि बन्दैन थाहा छैन ।’
अन्य कामका लागि मोहना नदी वारि नेपालतिर आउन नपरेपनि उनीहरुलाई प्रशासनीक काममा भने नदीको जोखिमपूर्ण यात्रा गर्नैपर्छ । वर्षायामका चार महिना डुंगाको जोखिम यात्रा गर्नुपर्छ । उनीहरुलाई अरु बेला अस्थायी रुपमा बनाइएको काठे पुलको भर पर्नुपर्ने हुन्छ ।
मोहना नदीका विभिन्न ठाउँमा पुल नहुँदा मानिसहरूले डुङ्गाको सहारा लिनु पर्ने बाध्यता रहेको मोहना नदीमा डुङ्गा चलाउँदै आएका रामकुमार चौधरीले बताए । उनले अहिले नदी वारपार गराएवाफत विद्यार्थीहरूलाई निःशुल्क र अन्यबाट ५० रुपैयाँ लिने गरेको बताए । उनी धनगढी उपमहानगरपालिकाले आह्वान गरेको टेण्डरबाटै नदीमा डुङ्गा चलाइरहेका हुन् ।
नदी पारीको बस्तीलाई जोड्न वडाको बजेटले मात्रै नपुग्ने भएकाले पुल निर्माणका लागि आफ्नो तहबाट केही गर्न नसकिएको वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले बताए । उनले लग्गाभग्गा र आँखाफुटे बस्तीलाई जोड्न पुल अपरिहार्य भएको र त्यसका लागि पहल गरिरहेको बताए । उनले पुल निर्माणका लागि पटक–पटक प्रतिनिधि सभा सदस्य नारदमुनि रानालाई आग्रह गरिएको बताए ।
सौच गर्न पनि भारतमै
प्रशासनीक कामबाहेक हरेक कुरामा भारतकै भरमा रहेको नदीपारिको नेपाली बस्तीका बासिन्दा सौच गर्न पनि भारतीय जंगलमै जान्छन् । स्थानीयका घरमा सौचालय छैनन् । स्थानीयबासी बिहानै उठेर नजिकैको भारतीय दुधुवा नेशनल पार्कको घना जंगलमा सौच गर्न छिर्छन् ।
घरमा सौचालय बनाउन नसकेकै कारण भारतीय जंगलमै गएर दिसापिसाव गर्न बाध्य भइरहेको उनीहरु बताउँछन् । ‘आर्थिक रुपमा विपन्न छौं,’ लग्गाभग्गाका हंशराम रानाले भने, ‘जंगलमा गएर असुरक्षित तरिकाले काम गर्र्ने रहर हाम्रो पनि होइन् ।’ जंगलमा दिसापिसाब गर्न जाँदा सर्प, जुकाको डर नेशनल पार्कमा बाघ र हात्तीको पनि उत्तिकै डर हुन्छ । घना जंगलमा महिलाहरूलाई त झन् असुरक्षा हुने गरेको स्थानीयको भनाई छ ।
नदी कटानको जोखिम
हरेक कुरामा पछाडि परेको सीमावर्ती बस्ती नदी कटानको जोखिममा पनि उत्तिकै छ । वारितिर स्थानीय तहले नदी कटान रोक्नका लागि जैविक तटबन्धन र कतै बाँध बाँधेका कारण मोहना नदीले सजिलमै पारितिरको जमिन कटान गरिरहेको छ । 
स्थानीय तहहरुले पनि आफ्नै भू–भाग भएपनि पारि भन्दा वारितिरको जमिन जोगाउन जोडबल गरिरहेको छ । मोहना पारी रहेको जनआधारभुत विद्यालयको जग्गा लिजमा लिएर केराखेती गर्दै आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १९, आई गाउँका तिलक चौधरीले नदीले आफ्नो आधा भन्दा बढी नोक्सान गरेको दुखेसो पोखे ।
पछिल्लो समय मोहना नदीले धार परिवर्तन गरेर निरन्तर नदी पारीको जग्गा कटान गरिरहेको बताए । ‘तीन विघा जग्गामा केराखेती सुरु गरेको हुँ,’ उनले भने, ‘आधा जमिन नदीमै गइसक्यो । लगानी पनि उठाउन सकेको छैन ।’ अझै पनि निरन्तर नदीले जमिन काटिरहेकाले पुरै केराखेती नदीमै जान्छ कि भन्ने पीर परेको उनले बताए । 
उनले विद्यालयसंग वार्षिक एक लाख रुपैयाँमा जग्गा लिजमा लिएर आठ लाख रुपैयाँको लगानीमा केरा खेती सुरु गरेका थिए । नदीपारिनै १० कठ्ठा जग्गामा धान र मुगफली खेती गरेका बेहुलियाका जागुराम चौधरीलाई पनि अहिले जग्गा नजोगिने हो कि भन्ने चिन्ता छ । ‘नदी निरन्तर लग्गाभग्गातिर कटानी गरिरहेको छ,’ उनले भने, ‘नदी छेउकै जमिन नजाला भन्न सकिन्न ।’
अहिले स्थानीय तहले नदीवारि कुश लगाएर जैविक तटबन्ध गरेको छ । जसले गर्दा अहिले मोहना नदी पारीतिरको जमिन कटान गरिरहेको छ ।
१२ साउन २०७८, मंगलवार ११:३० बजे प्रकाशित













