कोभिड-१९ विरुद्धको खोप लगाउन अस्वीकार गरेका पुरुषको कोभिडबाटै मृत्यु
कोभिड खोपको खिसीटिउरी गर्ने संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका एक पुरुषको कोरोनाभाइरसकै कारण ज्यान गएको छ। उनी एक महिना कोभिडका कारण थलिएका थिए।
हिल्सङ मेगाचर्चका सदस्य स्टीभन हार्मन कोभिड खोपका प्रखर विरोधी थिए। उनले खोप नलिने भन्दै उक्त खोपको खिसी गर्न एउटा शृङ्खला नै बनाएका थिए।
“मलाई ९९ वटा समस्या छन् तर तीमध्ये खोप चाहिँ हैन है,” सात हजार फलोवर भएका ती ३४ वर्षीय पुरुषले जुन महिनामा ट्वीट गरेका थिए।
लस एन्जलिसबाहिर पर्ने एउटा अस्पतालमा उनको निमोनिया र कोभिड-१९ को उपचार भइरहेकोमा गत साता मृत्यु भयो।
आफ्नो जीवनका अन्तिम दिनमा बाँच्नका लागि गरेका सङ्घर्षको प्रमाण छाडेर उनी गएका छन्।
अस्पतालको शय्यामा भएको बेलाका तस्बिरहरू उनले पोस्ट गरेका थिए।
“कृपया मेरो लागि तपाईँहरू सबैले प्रार्थना गर्नुहोला, उनीहरू साँच्चै पाइपमार्फत् सास पुर्याउन चाहन्छन् र मलाई भेन्टिलेटरमा राख्न चाहन्छन्,” उनले भनेका थिए।
बुधवार गरेको अन्तिम ट्वीटमा हार्मनले पाइपमार्फत् श्वासप्रश्वास लिने निर्णय गरेको बताएका थिए।
“मलाई थाहा छैन म कहिले उठ्न सकूँला। कृपया मेरो लागि प्रार्थना गर्नुहोला,” उनले लेखेका थिए।
१२ साउन २०७८, मंगलवार १०:०७ बजे प्रकाशित













