अबको तीन दिन लगातार पानी पर्ने, यस्तो छ पूर्वानुमान
केही दिनयता देशभर परिहरेको पानी तत्काल रोकिने अवस्था नरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्ले अबको तीन दिन नै पानी पर्ने र त्यसपछि पनि पानी सम्भावना रहेको बताएका हुन् । पानी पर्दै रोकिने क्रम जारी रहने मौसमविद् गंगा नगरकोटीले बताइन् ।
बङ्गालको खाडीबाट जलवाष्युक्त हावा नेपाल भित्रिरहेकाले पनि मनसुन थप सक्रिय भएको छ । गएराति प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
रुपन्देहीमा एक सय मिलीमिटर पानी परेको छ । यस्तै, डडेल्धुरामा १ सय १० मिलीमिटर, डोटीमा ८८ मिलीमिटर र नवलपरासीमा ९७ मिलीमिटर वर्षा भएको मापन गरिएको छ ।
आज पनि प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार प्रदेश-२, लुम्बिनी र कर्णाली प्रदेशमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।
अझै केही दिन पानी पर्ने सम्भावना रहेकाले भिरालो जमिनमा पहिरो जाने र नदी तथा खोला आसपासमा बाढीको जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
२८ असार २०७८, सोमवार ०७:५५ बजे प्रकाशित































