शव बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ घाइते
बैतडीमा शव बोकेर अस्पताल गइरहेको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि अस्पताल लैजाँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप सोही ठाउँको रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
दुर्घटनामा परी ६ जना घाइते भएका छन् । उनीलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए। जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।
२१ वैशाख २०७८, मंगलवार १७:१२ बजे प्रकाशित































