punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका सीमानाकामा एन्टिजेन परीक्षण गरिदै

Chaupati
safha napa

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सीमानाकामा सञ्‍चालनमा रहेका ‘हेल्थ डेस्क’मार्फत नेपाल फर्किने नागरिकको पछिल्लो हप्तादेखि एन्टिजेन परीक्षणको काम गरिरहेका छन । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए,नभएको जानकारी एन्टिजेन परीक्षणबाट पत्ता लाग्ने स्वास्थ्यकर्मीले जनाएका छन ।

व्यक्तिमा कोरोना भए, नभएकाबारे स्थलगतरुपमै पत्ता लगाउने छोटो र सजिलो प्रविधि एन्टिजेन परीक्षण भएको स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले जनाएका छन। यो एन्टिजेन विधि कोरोना परीक्षण गर्ने आरडिटी पिसिआर विधिजस्तै मानिन्छ।

तर कुन भाइरस हो भन्‍ने पत्ता लगाउन भने एन्टिजेन परीक्षण गर्दा नतिजा पोजिटिभ आउने व्यक्तिको पुनः आरडिटी पिसिआर पद्धतिबाट परीक्षण गर्नैपर्ने उनले बताए । एन्टिजेन विधिबाट परीक्षण गर्दा स्वाब लिएको १० देखि २० मिनेटमा नै नतिजा आउने उनले बताए ।

कैलालीको त्रिनगर सीमानाकाको हेल्थ डेस्कमा खटिएका अहेब गणेश साउदले यो विधिबाट परीक्षण गर्दा नतिजा पोजिटिभ देखिने व्यक्तिको हकमा ती व्यक्ति बस्‍ने पालिकालाई खबर गर्ने गरिएको बताए। समूहमा आउनेमध्ये शङ्‍कास्पद व्यक्तिको यस्तो परीक्षण गर्ने उनले बताए ।
हालसम्म त्रिनगर र गड्डाचौकी सीमानाकाका हेल्थ डेस्कमा एक हजार २८० जनाको एन्टिजेन परीक्षण भइसकेकामा ३२ जनाको नतिजा पोजेटिभ र बाँकीको नतिजा नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्‍कमा देखाएको छ ।

त्रिनगरको सीमानाकाबाट नेपाल भित्रिनेको सङ्ख्या कहिले बढ्ने कहिले घट्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा भारतमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर वृद्धि भएको देखिएपछि प्रदेशका सीमावर्ती जिल्लामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने सम्भावना बढेको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना भाइरसको सङ्क्रमण जोखिम हुन नदिन तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिएको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको आदेशमा पछिल्ला दिनमा भारतमा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदरमा वृद्धि भएको अवस्थामा खुला सिमानाका कारण कैलाली जिल्ला पनि उच्च जोखिममा रहेकाले फागु (होली) लगायतका पर्व, जात्रा, महोत्सव मनाउँदा भीडभाड नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन एवं एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ।


१४ चैत २०७७, शनिवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु